गणतन्त्र हामीले हैन- राजा ज्ञानेन्द्रले नै ल्याएका हुन् : प्रधानमन्त्री देउवा
अहिलेसम्म पूर्व राजाका विषयमा कुनै टिप्पणी नगर्नु भएका प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा गण हामीले नभएर राजा ज्ञानेन्द्रले नै ल्याएको टिप्पणी गर्दै पूर्व राजा ज्ञानेन्द्र शाहलाई शासन गर्ने भए चुनाव जितेर आउन चुनौति दिनुभएको छ ।

आज गणेशमान सिंहको १०७ औं जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले पूर्वराजा ज्ञानेन्द्र शाह वर्तमान व्यवस्थाको विरुद्धमा लागेको भन्दै त्यसो नगर्ने चेतावनी दिंदै शासन गर्न मन भए चुनाव लडेर आउन पनि उनले चुनौती दिनुभएको हो ।
कार्यक्रममा प्रधानमन्त्री देउवाले भन्नुभयो- “गणतन्त्र राजा ज्ञानेन्द्रले नै ल्याएको हो । हामीले ल्याएकै होइन । मैले सरकार सबै चढाउँछु, प्रजातन्त्रविरुद्ध जान सक्दिनँ सरकार भनें तर मलाई जेलमा थुनियो । त्यसकारण एकाएक जनता तातिए ।”
उहाँले थप भन्नुभयो- “देश प्रजातन्त्रको पक्षमा गइसकेको छ, त्यही पनि शासन चलाउँछु भन्दै यसको खिलाफमा मान्छे लाग्न सक्छन् । प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो । अरु हुनै सक्दैन, उनीहरुले चुनाव आएर लडे भइहाल्यो नि !”
उहाँले नेपालमा अहिले सबैभन्दा राम्रो संविधान भएको र यसले सबै पक्षलाई समेटेको बताउँदै भन्नुभयो अहिले सबैभन्दा राम्रो संविधान छ । समावेशी, समानुपातिक छ । सबैलाई अटाएको छ । केही समस्याहरू आउन सक्छन् हामीले प्रजातान्त्रिक ढंगबाटै समाधान गर्नुपर्छ ।
प्रतिक्रिया राख्नुहोस्