नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न खरेल पक्राउ
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले नक्कली भूटानी शरणार्थी ठगी प्रकरणमा संलग्न रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरी अदालतमा पेस गरेको छ ।
उक्त प्रकरणमा संलग्न भई फरार रहेका मधेस प्रदेशको रौतहटस्थित फतुवा हर्साह–९ स्थायी घर भएका ४२ वर्षीय रन्जनकुमार खरेललाई पक्राउ गरिएको सिआइबीले जानकारी दिएको छ ।
सिआइबीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले खरेल उक्त नक्क्ली भूटानी शरणार्थी ठगी घटनामा नगद तथा चेकमार्फत रकम जम्मा गर्ने, ओसारपसार गर्ने, गैरकानुनी रुपमा ठगी तथा कागजात कीर्ते गरी पीडितहरुबाट असुल गरी प्राप्त भएको रकम लिने गिरोहरुसँग मिलेमतो गरी ठगी अपराधमा संलग्न रहेका बताउनुभयो ।
उक्त घटनाको ठगी, कीर्ते र सङ्गठित अपराधमा संलग्न रही फरार हुँदै आएका खरेललाई गोप्य सूचनाका आधारमा पक्राउ गरी थप आवश्यक कारबाहीका लागि आज काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
खरेलविरुद्ध आर्थिक वर्ष २०७९/८० मा जिल्ला प्रहरी परिसर काठमाडौँमा नक्कली भूटानी शरणार्थी ठगी प्रकरणमा ठगी, लिखत कीर्ते, राज्यविरुद्ध र सङ्गठित अपराध कसुरमा मुद्दा दर्ता गरिएको थियो । त्यसपछि उनी फरार हुँदै आएका थिए ।





प्रतिक्रिया राख्नुहोस्