मधेश प्रदेशको सत्ताररमिताले लोकतन्त्रको धज्जी उडेको छ । आज (कार्तिक २४ गते) प्रदेश प्रमुख सुमित्रा सुवेदीले नेकपा एमालेका प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवलाई अघिल्लो दिनको मिति राखेर मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको छ ।
प्रदेशप्रमुख सुवेदीले यादवलाई बर्दिवासको एक होटलमा विहान सवा ५ बजे शपथग्रहण गराउनुभएको हो । यो प्रकरणलाई सत्ता रमिताका रुपमा टिप्पणी गर्न थालिएको छ ।
गत भदौ २३ र २४ गतेको जेन–जीले आन्दोलनपछि मधेश प्रदेशको मुख्यमन्त्री बन्नुभएका जितेन्द्रप्रसाद सोनलले विश्वासको मत पाउने अवस्था नबनेपछि उहाँले राजीनामा दिनुभएको थियो ।
यसपछि प्रदेश प्रमुख सुवेदीले संविधानको धारा १६८ को उपधारा ३ अनुसार नेकपा (एमाले) मधेश प्रदेश संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।
अचम्मको कुरा त के छ भने मुख्यमन्त्री यादवको शपथ पुरानो मितिमा सोमाबार उज्यालो नहुँदै होटलमा हुनु रहेको छ । आइतबारको मितिमा यादवलाई ठूलो दलको हैसियतले मुख्यमन्त्री नियुक्त गरी पथ गराइएको हो ।
लगत्तै एमाले, संघीय समाजवादी र राप्रपाको संयुक्त सरकार गठन भएको छ । सरकारमा एमालेबाट लखन दास, संघीय समाजवादीबाट बिमला अन्सारी र राप्रपाबाट कन्चन बिच्छा मन्त्री नियुक्त हुनुभएको छ ।

मधेशमा जसर सरकार गठन भयो यसप्रति नेपाली कांग्रेस र नेकपा एमाले पनि असन्तुष्ट देखिएका छन् । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल एक्समार्फत धारणा सार्वजनिक गर्दै यो घटनालाई ‘निन्दनीय’ भन्नुभएको छ ।
शर्माले मधेश प्रदेशमा भएको अ–राजनीति दुःखद रहेको र यसले नागरिक पंक्तिमा संघीयताप्रति थप वितृष्णा बढाउन सघाउने घटनाका रुपमा लिनुभएको छ ।
त्यस्तै मधेशमा सबैभन्दा ठूलो दल नेकपा एमालेले नहुनुपर्ने घटना भएको टिप्प्णी गरेको छ । मधेश प्रदेश एमाले प्रमुख सचेतक हरिनारायण महतोले ‘नहुनुपर्ने घटना’ भएको प्रतिक्रिया दिनुभएको छ ।
आश्चर्यको विषय के छ भने मुख्यमन्त्रीबाट जीतन्द्र सोनलले राजीनामा दिएपछि उपचारका लागि भन्दै निस्कनुभएकी प्रदेश प्रमुख सुवेदीले बर्दिबास नगरपालिका–३ स्थित पानस होटेलमा मुख्यमन्त्रीको नियुक्ति र शपथ गराउनु रहेको छ ।





प्रतिक्रिया राख्नुहोस्