राष्ट्रिय जनगणनामा सक्रिय सहभागी हुन उपराष्ट्रपतिको अपिल
उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रिय जनगणनामा सक्रिय सहभागी हुन सबै देशबासीलाई अनुरोध गर्नुभएको छ । बाह्रौँ राष्ट्रिय जनगणना–२०७८ प्रारम्भको अवसरमा आज सन्देश दिँदै उहाँले राष्ट्रिय उत्सवका रूपमा सुरु भएको यस राष्ट्रिय अभियानलाई सफल बनाउन अनुरोध गर्नुभएको हो ।

प्रत्येक १० वर्षमा हुने राष्ट्रिय जनगणनाको बाह्रौँ शृङखला अर्थात् बाह्रौँ राष्ट्रिय जनगणना–२०७८ आजदेखि प्रारम्भ हुँदैछ । जनगणना आजदेखि सुरु भई मङ्सिर ९ गतेसम्म सञ्चालन हुनेछ ।
जनगणना तथ्याङ्क प्रणालीको मेरुदण्ड र विकासको आधार भएकाले जनताको जीवनस्तर, कूल जनसङ्ख्या, जातीय, भाषिक, धार्मिक समुदाय तथा भौगोलिक अवस्थितिको जनसङ्ख्या यसैबाट प्राप्त हुने उपराष्ट्रपतिले बताउनुभएको छ ।
“जनगणनाबाट प्राप्त तथ्याङ्कका आधारमा नै विकास निर्माणका योजना तर्जुमा, सामाजिक सुरक्षा कार्यक्रम तय, शिक्षा, स्वास्थ्य र सुरक्षा जस्ता संविधान प्रदत्त जनताका मौलिक हक अधिकार तथा आधारभूत आवश्यकता पूरा गर्न आवश्यक पर्ने स्रोतको आकलन गरिन्छ । त्यसैले जनगणना सरकारको मात्रै नभएर आम जनताको आवश्यकता हो”, उहाँले भन्नुभएको छ ।
उहाँले नेपालमा जनगणना सुरु भएको शताब्दी बढी भइसके तापनि सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान जारी भएपछिको पहिलो जनगणना भएकोले बाह्रौँ राष्ट्रिय जनगणनाको विशिष्ट महत्व रहेको बताउनुभएको छ ।
उपराष्ट्रपतिले जनगणनाका लागि घर आँगनमा आउने गणकलाई निर्धक्क आफ्नो सत्य तथ्य विवरण उपलब्ध गराई सहयोग गर्न अपिलसमेत गर्नुभएको छ । उहाँले राष्ट्रिय जनगणनामा प्रत्येक नेपाली जनताले दिने व्यक्तिगत विवरणलाई जस्ताको त्यस्तै उल्लेख गरी यथार्थ विवरण सङ्कलन गर्न सम्पूर्ण गणकलाई आग्रह गर्नुभएको छ ।
यसै गरी उपराष्ट्रपति पुनले प्रगतिशील सामाजिक अभियानकर्मी फाल्गुनन्दले चाल्नुभएका कदम र दिनुभएका उपदेश आजका दिनमा व्यावहारिक हुँदै आएको बताउनुभएको छ ।
राष्ट्रिय विभूति, समाज सुधारक फाल्गुनन्द लिङ्देनको जन्मजयन्तीको अवसरमा शुभकामना सन्देश दिँदै उहाँले छोरा समान छोरीलाई शिक्षा र अंश दिनुपर्ने, आत्मनिर्भर बन्न स्वदेशी उत्पादनका वस्तु प्रयोग गर्नुपर्ने जस्ता धारणा ल्याएर समाज सुधारमा योगदान गर्नुभएका फाल्गुनन्दले नेपाली समाज रूपान्तरणमा उच्च योगदान दिनुभएको बताउनुभएको छ ।
किराँत धर्मावलम्बीका प्रवर्तकमध्येका एक फाल्गुनन्दलाई आज संसारभरका किराँत समुदाय र आम नेपालीले सम्मानका साथ स्मरण गरिरहेको उल्लेख गर्दै उपराष्ट्रपतिले फाल्गुनन्दले देखाएको सत्मार्गमा लाग्दा देश र जनता सबैको अझै उत्थान हुने विश्वास व्यक्त गर्नुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्