जन सरोकार

समाज सुधारक महागुरु फाल्गुनन्दको १३७ औँ जयन्ती, राष्ट्रपति-प्रधानमन्त्रीद्वारा शुभकामना

किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १३७ औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो ।

किराँत भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उहाँको महत्वपूर्ण योगदान रहेको छ । समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माणसमेत गर्नुभएको थियो । जसलाई सत्य धर्म मुचुल्का भनिन्छ । यो १९८८ साल वैशाख २४ गते जारी गरिएको थियो ।

किराँत समाज सुधारका लागि नीतिसमेत निर्माण गरी योगदान गर्नुभएका फाल्गुनन्दको निधन विसं २००५ मा भएको थियो । किराँत समाज सुधारमा उहाँले पु¥याउनुभएको योगदानको कदर गर्दै उहाँलाई २०६६ मङ्सिर १६ गते सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो ।

उहाँको योगदानको कदर गर्दै किराँती समुदायको बसोवास रहेको पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम, झापालगायत किराँत समुदायको बसोवास भएका जिल्लामा फाल्गुनन्द जयन्ती मनाउने गरिन्छ । राजधानीमा पनि विभिन्न कार्यक्रम गरी किराँत समुदायले महागुरु फाल्गुनन्द जयन्ती मनाउने गरेको किराँत ज्योतिष सङ्घका अध्यक्ष चन्द्रकुमार शेर्माले जानकारी दिनुभयो ।

यस अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी १३७ फाल्गुनन्द जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण किराँत धमावलम्बीमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

फाल्गुनन्द जयन्तीका अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै राष्ट्रपतिले सभ्य र सुसंस्कृत समाज निर्माणका अभियन्ता महागुरु फाल्गुनन्दका प्रेरणादायी उपदेश र मार्गदर्शनलाई अनुशरण गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव र सहिष्णुता कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवं सवल बनाउन सकिने विश्वास व्यक्त गर्नुभएको छ ।

सन्देशमा उहाँले फाल्गुनन्द जयन्तीले हामी सबैमा सहिष्णुता, सद्भाव, अहिंसा एवं समाज सुधारको महान अभियानमा लाग्न प्रेरणा प्राप्त होस् भन्दै शुभकामना व्यक्त गर्नुभएको छ ।

यसै गरी प्रधानमन्त्री शेरबहादुर देउवाले किराँत धर्मालम्बीका महागुरु फाल्गुनन्दको १३७औँ जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण किराँत धमावलम्बीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।

फाल्गुनन्द जयन्तीका अवसरमा उहाँले शुभकामना सन्देश दिँदै राष्ट्रिय विभूति, हत्याहिंसाका विरोधी तथा समाज सुधारक महागुरु फाल्गुनन्दका ज्ञान र उपदेशले समाजमा सकारात्मक प्रभाव पार्ने र सत्मार्गमा लाग्ने उत्प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

विशेष गरी पूर्वी नेपालका पहाडी जिल्लामा बसोबास गर्ने किराँत समुदायको शैक्षिक, सामाजिक, आर्थिक र सांस्कृतिक विकासमा उहाँको महत्वपूर्ण भूमिका रहेको छ । प्रधानमन्त्री देउवाले उहाँका प्रेम, अहिंसा, लैङ्गीक समानता तथा आध्यात्मिकताका सिद्धान्तले समाजमा आपसी सद्भाव र सहिष्णुता प्रवद्र्धन हुने बताउनुभएको छ ।

प्रधानमन्त्री देउवाले फाल्गुनन्द जयन्तीले सबैमा सहिष्णुता, सद्भाव, अहिंसा एवं समाज सुधारको अभियानमा लाग्न प्रेरणा प्राप्त होस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button