जन सरोकार

‘लिभिङ टुगेदर’बाट जन्मिएका सन्तानले कहाँबाट पाउने नागरिकता ?

आमाको नामबाट नागरिकता सहज रुपमा प्राप्त नहुँदा ‘लिभिङ टुगेदर’ मा रहेकोबाट जन्मिएका सन्तानले पनि नागरिकता नपाएर जोखिममा परेको सरोकारवालाहरुले बताएका छन् । यस्तोमा नागरिकताबाट वञ्चित हुने उच्च जोखिममा रहेका समूहको समस्या समाधानका लागि सङ्घीय संसद्मा पेश भएको नागरिकता संशोधन विधेयक पारित गरिनुपर्नेमा जोड दिइएको छ ।

महिला, कानून र विकास मञ्चले हालै आयोजना गरेको नागरिकताबाट वञ्चित हुने उच्च जोखिममा रहेका समूह र सञ्चारकर्मीसँगको छलफल कार्यक्रममा एकल महिला, सडक बालबालिका, मनोरञ्जन एवं सत्कार क्षेत्रमा कार्यरत महिला, भूमिहीन नागरिकताको उच्च जोखिममा रहेको जानकारी गराइएको छ ।

‘लिभिङ टुगेदर’ मा बसेका महिलाले बच्चा जन्माएपछि केटाले छोडेर हिँड्ने गरेकाले सन्तान नागरिकताबाट वञ्चित हुने गरेका छन् । भूमिहीनले पनि नागरिकता नपाउँदा लालपुर्जा बनाउन नसकेर सुकुम्बासी हुने गरेको बताइएको छ ।

कार्यक्रममा बेचबिखनमा परेका महिलाको विषयमा कार्यरत संस्था एक्टमिन संस्थाका कार्यक्रम अधिकृत करुणा महर्जनले बेचबिखनमा परेका ४० प्रतिशत महिलाले नागरिकताका लागि प्रयास गर्दा पनि नपाएपछि प्रयास नै छोडिदिएको अध्ययनका क्रममा पाइएको बताउनुभयो । बेचबिखनमा परेका र विदेशमा काममा गएका महिलाबाट जन्मेका सन्तानले नागरिकता पाउन नसकेको मञ्चलगायत छ वटा संस्थाले गरेको अध्ययनबाट देखिएको छ ।

महिला छिट्टै विवाह गरेपछि बेचबिखनमा पर्ने गरेको र त्यसपछि जन्मेका बच्चाले नागरिकता पाउन सकेका छ्रैनन् । नागरिकता नहुँदा यस्ता मानिसलाई बैंक खाता खोल्न, व्यवसाय दर्ता गर्न, स्थायी लेखा नम्बर (प्यान नं) लिन समस्या हुने गरेको छ । एकल महिलालाई परिवारले पनि नागरिकता बनाउन असहयोग गर्ने गरेका छन् ।

एकल महिला समूहका अध्यक्ष राजीन रायमाझी एकल महिला आफैँले पनि नागरिकता लिन सक्रिय नभएको अध्ययनका क्रममा पाइएको बताउनुहुन्छ । ग्रामीण भेगमा जिल्ला प्रशासन कार्यालय टाढा हुने र नागरिकता बनाउनका लागि जान आउन खर्चको अभावमा पनि धेरैले नागरिकता लिनेतर्फ ध्यान नै नदिने गरेको अध्ययनका क्रममा पाइएको उहाँले बताउनुभयो ।

सडक बालबालिका र नवयुवालाई पनि नागरिकता लिन अप्ठ्यारो हुने गरेको छ । सिविन नेपालका कार्यक्रम अधिकृत विमला तिवारी सडक बालबालिका र नवयुवामध्ये ११५ जनाले नागरिकता पाए÷नपाएकोे नमूना अध्ययन गर्दा एउटै परिवारका १६ जना सडकमै जीवन गुजारा गर्ने र बाबु नभएकाले कसैले पनि नागरिकता नपाएको भेटिएको बताउनुभयो । काठमाडौँकै सडकमा यस्तो घटना भेटिएकाले सडकमा जीवन बिताउने वर्ग पनि नागरिकता नपाउनेको उच्च जोखिममा रहेका छन् ।

सडकमा बाल्यकाल बिताएर केही गर्छु भन्ने नवयुवालाई नागरिकताले नै रोक्ने गरेको छ । मञ्चका अधिवक्ता बिनु लामा उच्च जोखिममा रहेका वर्गका ४२० जनाले नागरिकता पाए नपाएका बारेमा गत वर्ष गरिएको अध्ययन प्रतिवेदन केही दिनमा सार्वजनिक गर्ने तयारी गरिएको बताउनुहुन्छ ।

रात्रिकालीन मनोरञ्जन र सत्कार क्षेत्रमा कार्यरत महिलालाई नागरिकता र ‘बायो डाटा’ नचाहिने भएकाले समस्या जटिल बनेको छ । रात्रिकालीन मनोरञ्जन र सत्कार क्षेत्रमा कार्यरत महिलाका विषयमा कार्यरत संस्था विश्वास नेपालका कार्यक्रम अधिकृत कमला सापकोटा यस क्षेत्रमा कार्यरत सबैलाई यौन व्यवसायीकै दृष्टिले हेरिने भएकाले पनि समस्या जटिल बनेको बताउनुहुन्छ । यस क्षेत्रमा कार्यरतबाट जन्मिएका सन्तानले पनि नागरिकता पाउन कठिन हुने गरेको छ ।

नेपाल महिला एकता समाजका अध्यक्ष विमला तामाङ भूमिहीनलाई नागरिकता नीतिले नदिएको की नियतिले भनी प्रश्न गर्नुहुन्छ । यस्ताले नागरिकता नपाउँदा सम्बन्धित परिवारलाई मात्र नभई देशलाई नै समस्या हुने गरेको उहाँको भनाइ छ ।
बिहीबारदेखि नै सुरु हुन लागेको १२ औँ जनगणनामा नागरिकता छ÷छैन भन्ने प्रश्न राखौँ भनी मञ्चलगायत यस क्षेत्रमा कार्यरत संस्थाले तथ्याङ्क विभागसँग माग गरे पनि स्वीकृत नभएको जनाइएको छ । देशमा कतिसँग नागरिकता छ र कतिसँग छैन भन्ने तथ्याङ्क सरकारसँग नहुँदा समस्या झन जटिल भएको जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button