राजनीति

जनतालाई सरकारको उपहार- महंगीको डण्डा

जनतालाई राहत दिने सपना बाँडेर गठन भएको गठबन्धनको परमादेश सरकार चलिरहेको देशमा जनताले राहतको साटो दैनिक रुपमा आहत मात्रै पाइरहेका छन् । परमादेशका लागि भएको गठबन्धनको नतिजा अहिले सडकमा छताछुल्ल भएको छ ।

जनता महंगीको चर्को मारमा परेका छन् । मुलुकको आर्थिक अवस्था दैनिक खस्कदो छ । सरकार चलाउन हप्तैपिच्छे ट्रेजरी बिल जारी गर्नुपर्ने अवस्था छ ।

नेपालीहरुको मुख्य चाड दशैंयता छठको समाप्तिसम्म पेट्रोलियम पदार्थमा भएको चर्को मूयवृद्धिले जनताको ढाड सेकिएको छ । इन्धनमा भएको मूल्यवृद्धिसंगै जनताको दैनिक जीवन नराम्रोसंग प्रभावित भएको छ । लोकतान्त्रिक, संविधानको संरक्षक र जनताको सेवा गर्ने दावी गरिएको गठबन्धन सरकार बनेको केही महिनाभित्रै नागरिकको ढाँड सेक्ने गरी मूल्यवृद्धि भएको छ ।

दैनिक उपभोग्य सामाग्री देखि सवारी भाडा, निर्माण सामाग्रीलगायत हरेक क्षेत्रमा मूल्यवृद्धि निसास्सिदो बनेको छ । सर्वसाधारणको चुल्होमा ठाडो असर परेको छ ।

इन्धनमा निरन्तर मूल्यवृद्धि भएको छ । गत वर्ष ९९ रुपैयाँ प्रति लिटरमा झरेको पेट्रोलको मूल्य १३६ पुगेको छ । डिजेल, मट्टीटेल र खाना पकाउने एलपी ग्याँसमा समेत व्यापक मूल्य वृद्धि भएको छ । यसले हरेक क्षेत्रमा असर पारेको छ । बुधबार गरिएको मूयवृद्धिपछि ग्यास प्रति सिलिण्डर १५७५ पुगेको छ ।

यसबीचमा मूल्यवृद्धिको कारण अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धिर्ला कारण देखाइएको छ । तर अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेका बेला मूल्य घटेको विरलै पाइन्छ । एकातिर निगम घाटामा गएको कारण देखाउने अर्कोतिर सरकारले इन्धनमा अत्याधिक कर उठाउनेदेखि जलविद्युत आयोजनाका लागि भन्दै प्रत्येक लिटरमा अतिरिक्त शुल्क कटौती गर्दै आएको छ ।

इन्धनको मूल्य वृद्धि हुँदा सवारी साधनको भाडा पनि वृद्धि भएको । अघिल्लो महिना २८ प्रतिशतले भाडा वृद्धि भएको छ । सार्वजनिक यातायातको भाडा वृद्धिले ढुवानीमा समेत असर परेको छ । ढुवानीको भाडा समेत वृद्धि हुँदा उपभोग्य सामाग्रीको मूल्य आकाशिएको छ ।

खाद्यान्नको मूल्य निकै बढेको छ । खाने तेल, घीऊ, चामल, पीठो, दाल, मसला जस्ता सामाग्रीको मूल्य बढेको छ । खाने तेलको मूल्य एक वर्षभित्र झण्डै दोब्बर भएको छ । तरकारी र फलफूलको मूल्य पनि चर्किएको छ ।

स्वदेशमै उत्पादित तरकारीको समेत मूल्य स्थिर हुन सकेको छैन । बिचौलियाका कारण बजारमा आलु सस्तिने मौसममा पनि घटेको छैन । प्याज, लसुन जस्ता देनिक उपभोग्य सामाग्रीहरु ५० प्रतिशतले मूल्य वृद्धि भएको छ ।

हिउँद सुरु हुने समय निर्माणको समय पनि हो, तर निर्माण सामग्रीमा चर्को मूल्य बढेको छ । फलामे छड, सिमेन्ट, रोडा, ईट्टा, बालुवा, ढुङ्गा, गिट्टीलगायत सामाग्रीको मूल्य वृद्धि भएको छ । काठ, फलाम, स्टिलको पनि मूल्य वृद्धि भएको छ । फलामे छडको १० देखि १५ रुपैयाँ, सिमेन्टको ५० देखि १०० रुपैयाँले मूल्यवृद्धि भएको छ । पाइपको मूल्य २५ प्रतिशतसम्मले बढेको छ ।

बिजुलीको सामानको पनि अत्याधिक मूल्यवृद्धि भएको छ । कतिपयको ५० देखि शतप्रतिशत मूल्यवृद्धि भएको छ । उपभोक्ताहरु महङ्गो मूल्यमा खरिद गर्न वाध्य भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.