“मन्त्रीसंग जापान जाने थाहा थिएन, हामी पीडित भयौं”
मानव तस्करलाई मोटो रकम बुझाएर जापान जान खोज्ने तीन युवाले आफूहरु मन्त्रीसंग जाने भन्ने थाहा नपाएको बताउँदै प्रहरीसमक्ष आफूहरु पीडित भएको बयान दिएका छन् ।
समाचार अनुसार एक कार्यक्रमका लागि भन्दै कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीसँगै जापानबाट डिपोर्ट भएका तीन युवाले जापान जान पाउने भएपछि पैसा तिरेर जान खोजेको बताएका हुन् ।
जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा प्रहरी अधिकृतहरुले लिएको बयानमा ती युवाले आफूहरुलाई सुरुमा कोशी प्रदेशका मन्त्रीसँगै जाने भन्ने थाहा नभएको जिकिर पनि गरेका छन् ।
तत्कालीन मन्त्री अधिकारीसँगै खोटाङको केपिलासलगढी गाउँपालिका–४ का ४१ वर्षीय जनक राई, खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ का ३७ वर्षीय दावा शेर्पा र रसुवाको कालिका गाउँपालिका–५ का २१ वर्षीय कञ्चन देवकोटा ११ कात्तिकमा जापानका लागि उडेका थिए ।
ट्रान्जिट रहेको हङकङमा उनीहरुको भेट मन्त्री अधिकारीसँग भएको थियो । एक युवकले बयानमा बताएअनुसार, उनीहरुलाई फोटो पठाएर ती व्यक्तिसँग भेट्न भनिएको र त्यसपछि हङकङमा उनीहरुले मन्त्रीलाई भेटेका अनुसन्धान अधिकृतले बताएका छन् ।
यद्यपि, जापानको विमानस्थलमै अध्यागमन कार्यालयले उनीहरु सबैलाई डिपोर्ट गरिदिएको थियो । उनीहरुमध्ये देवकोटा र पूर्वमन्त्री अधिकारीको टोकियोमा एउटै होटलमा कोठा बुकिङ रहेकोसमेत खुलेको छ ।
काठमाडौं फर्किएपछि अध्यागमन विभागले थप अनुसन्धानका लागि भन्दै तीन जनालाई उपत्यका अपराध अनुसन्धान कार्यालय पठाइदिएको थियो ।
यो मामिला सतहमा आएपछि पूर्वमन्त्री अधिकारीले प्रतिक्रिया दिँदै ‘हङकङ पुगेपछि मात्र उनीहरु पनि आफूसँगै कार्यक्रममा सहभागी हुन लागेको थाहा पाएको र कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङ र प्रहरीको विशेष ब्यूरोका डीआईजी राजन अधिकारीलाई ह्वाटस एपमा म्यासेज गरेर यसबारे जानकारी दिएको बताउनुभएको थियो ।
प्रहरीले भने यो मामिलामा अनुसन्धान गर्नुपर्ने थ्रुप्रै विषयहरु देखिएको भन्दै आइतबार जिल्ला अदालत, काठमाडौंबाट अधिकारीविरुद्ध पक्राउ अनुमति लिएको थियो ।
त्यसपछि आइतबार दिउँसो पूर्वमन्त्री अधिकारी निवागरी काठमाडौं ल्याइएको र जिल्ला अदालत काठमाडौंले २ दिन हिरासतमा राख्न अनुमति दिइसकेको छ ।
प्रतिक्रिया राख्नुहोस्