अनुसन्धान अधिकृतहरुलाई न्यायाधीशको गम्भीर प्रश्न
थुनामा रहेका थुनिने, फरार फरारै हुने, तर पीडितले पैसा नपाउने स्थिति भयो भने के होला ?
कार्तिक २५ गते अइतबार कास्की प्रहरीले जिल्ला अदालत पोखराको सूर्यदर्शन सहकारीको रकम ठगीको अभियोग लागेकाहरुको म्याद थपका लागि लैजाँदा न्यायाधीशले बचतकर्ताको रकम फिर्ताका सवालमा गम्भीर सवाल उठाउनुभयो ।
अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएसंगै गम्भीर सवाल प्रहरीतिर तेस्र्याएर जिम्मेवार बन्न सुझाव दिएको छ ।
न्यायाधीश नवराज दाहालको इजलासले सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धामा अनुसन्धान गर्न १३ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
अनलाइन खबरले प्रकाशन गरेको समाचार अनुसार म्याद थपको बहसका क्रममा म्याद थपका क्रममा थुनुवाहरुलाई हिरासतमै राख्ने कि छाड्नेबारे पक्ष–विपक्षको बहसपछि न्यायाधीश दाहालले पक्राउ गरेर मुद्दा चलाउने र थुन्नेमात्रै हो कि बचतकर्ताले पैसा पनि फिर्ता पाउँछन् भनेर प्रश्न गर्नुभएको हो ।
उहाँले प्रश्न गर्दै भन्नुयो, पक्राउ गर्नु, मुद्दा चलाउनु, दोषीले सजाय पाउनु र बचतकर्ताले रकम फिर्ता पाउनुलाई फरक हिसाबले हेरेर अनुसन्धान गर्नुपर्छ ।
सहकारीका मुद्दामा रकम दुरुपयोग गर्नेहरुलाई सजाय भए पनि बचतकर्ताले रकम फिर्ता पाउन नसकेकोतर्फ इंगित गर्दै न्यायाशीध दाहालले भन्नुभयो, पीडितले रकम फिर्ता पाउने स्थिति बनाउनु पनि अनुसन्धानकर्ताकै जिम्मेवारी हो ।
सरकारी वकिल, पीडित पक्षका अधिवक्ता, रवि लामिछाने र छविलाल जोशी पक्षका कानुन व्यवसायीले बहसपछि पूर्व गृहमन्त्री लामिछानेले समय मागेर आफ्ना कुरा राख्दै “असली सहकारी पीडितलाई रकम फिर्ता गराउनतर्फ नभई आफूमाथि राजनीति गर्ने काम भइरहेको” जिकिर गरेपछि न्यायाधीश दाहालले अनुसन्धानकर्तालाई बचत फिर्ता गराउनेर्फ सचेत गराउनुभएको हो ।
न्यायाधीश दाहालले कसैलाई मुद्दा चलाएर थुन्नेतिर मात्र नभई बिगो भराउन सम्पत्ति रोक्का गर्ने, पीडितलाई पैसा फिर्ता गर्ने जिम्मेवारी पनि अनुसन्धानकर्ताकै भएको भन्दै ध्यान दिन आग्रह गर्नुभयो ।
पुराना केही सहकारीको अवस्था त्यस्तै देखिएको र पीडितले रकम नपाउने, दोषी जेलमात्र जाने देखिएको बताउँदै न्यायाधीश दाहालको प्रश्न थियो, “थुनामा रहेका थुनिने, फरार फरारै हुने, तर पीडितले पैसा नपाउने स्थिति भयो भने के होला ?”
प्रतिक्रिया राख्नुहोस्