प्रधान न्यायाधीशलाई प्रवेश नदिन आज वकिलहरुले सर्वोच्चको मूलगेटमै धर्ना दिने
नेपाल बार एशोसिएसनले आज सर्वोच्च अदालतको मूल गेटमै धर्ना बसेर प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरालाई सर्वोच्च अदालत प्रवेश गर्न नदिने जनाएको छ ।

प्रधानन्यायाधीश जबराले मन्त्रिपरिषदमा भागबण्डा खोजेको खबर सार्वजनिक भएपछि नेपाल बारले आन्दोलन थालेको थियो । आन्दोलनको क्रमअन्तर्गत नै कानुन व्यवसायीहरुले कुनै पनि मुद्दामा बहस पैरवी नगर्ने निर्णय गरेका छन् । सर्वोच्चका न्यायाधीशहरुले पनि मुद्दाको सुनुवाइ गरेका छैनन् ।
बिहिबार सर्वोच्च परिसरमा भएको भएको प्रदर्शनमा बल प्रयोग गरेको विरोधमा एशोसिएसनले प्रधानन्यायाधीश जबरालाई प्रवेश निषेध गर्ने आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।
नेपाल बार एशोसिएसनकी उपाध्यक्ष रक्षा बस्यालले आज सर्वोच्च अदालतको मूलगेटमा धर्ना बस्ने र प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालतमा छिर्न नदिने जानकारी दिनुभयो ।
कानून व्यवसायीहरु सर्वोच्च अदालतमा प्रधानन्यायाधीश प्रवेश गर्ने मूलगेटमा धर्ना बस्ने जानकारी पाएपछि सर्वोच्च अदालतले थप सुरक्षा बल मगाई कडाइ गरेकाले कानून व्यवसायीहरुलाई धर्नास्थल नै जान नदिने रणनीति बनाएको छ ।
प्रहरीले बारबाट सर्वोच्च अदालत प्रवेश गर्ने भित्री ढोकामा नै अवरोध गरेमा कानून व्यवसायीहरु सडकबाटै सर्वोच्च अदालतको मुलगेटमा गएर धर्ना दिने योजना बनाएका छन् ।
कानुन व्यवसायीहरुको आन्दोलन उत्कर्षमा पुगेपछि सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । बिहीबारदेखि नै सर्वोच्च अदालत परिसरभित्रै नेपाल प्रहरीका अतिरिक्त सशस्त्र प्रहरीको टोली पनि खटाइएको थियो ।
प्रतिक्रिया राख्नुहोस्