प्रधान न्यायाधीशको पक्षमा नारा लगाउनेहरु पक्राउ
मूल गेटमा वकिलहरुको धर्ना, प्रधान न्यायाधीश अर्कै बाटोबाट अदालतभित्र, आठवटा इजलासमा पेसी ताेकियाे
प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको माग गर्दै सर्वोच्च अदालतको मूल गेट धर्ना दिइरहेका वकिलहरुको आन्दोलन बिथाल्ने गरी प्रधान न्यायाधीशको पक्षमा नारा लगाउनेहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार सर्वोच्चको मूल गेट अगाडि नेपाल बार एसोसिएसनको अगुवाइमा भइरहेको प्रदर्शनमा प्रधान्यायाधीश जबराको पक्षमा नाराबाजी गर्दै उनीहरुले बारको धर्ना बिथोल्न खोजेपछि प्रहरीले ५ जनालाई पक्राउ गरेको हो ।
सर्वोच्च अदालतको मूल गेटमा वकिलहरुले धर्ना दिएपछि शुक्रबार प्रधानन्यायाधीश जबरा सर्वोच्च प्रवेश गर्ने नियमित गेटभन्दा फरक गेट प्रयोग गरेर अदालत प्रवेश गर्नुभएको छ ।
करिब ११ बजेतिर सर्वोच्चमा आउनभएका प्रधानन्यायाधीश जबराले महान्यायधिवक्ताको कार्यालय नजिकैको गेट प्रयोग गरेर अदालत प्रवेश गर्नुभएको थियो ।
अदालत प्रवेश गरेलगत्तै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोक्नुभएको छ । उहाँले आठवटा इजलासमा पेसी तोक्नुभएकामा सातवटा संयुक्त र एउटा एकल इजलास रहेको छ । पेसी तोकिए पनि सुनुवाइ भने प्रारम्भ भएको छैन ।
प्रधानन्यायाधीशले मन्त्रिमण्डल विस्तारमा भाग खोजेको भन्ने आरोपका कारण यही कात्तिक ७ गते आइतबार मध्याह्नदेखि न्यायालयमा प्रश्न उठेको र उक्त प्रश्नको जवाफको माग गर्दै न्यायाधीशहरूले सुनुवाइ गर्न इन्कार गर्दै आउनुभएको थियो ।
सर्वोच्चमा यही कात्तिक ८ गतेदेखि मुद्दाको सुनुवाइ नभए पनि बीचबीचमा बन्दीको मुद्दामा मात्र सुनुवाइ भएको छ । प्रधानन्यायाधीश राणाले आफूलाई संविधान र कानूनले प्रधानन्यायाधीशका रूपमा जिम्मेवारी दिएको र त्यो पूरा गर्न आफूसक्षम रहेको बताउँदै न्यायाधीशहरूलाई पनि संविधान र कानूनबमोजिम आ–आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गर्नुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्