विद्यार्थी संगठनद्वारा आयल निगम घेराउ, निगमका कार्यकारी निर्देशकको राजीनामा माग
देशमा घेराउ र धर्नाको माहोल चलिरहेको छ । सर्वोच्च अदालतमा प्रधान न्यायाधीशको राजीनामाको माग गर्दै वकिलहरुको धर्ना, विद्यार्थी संगठनहरुले इन्धनको मूल्यवृद्धिको बिरोधमा आयल निगममा धर्ना दिएका छन् ।

सरकारले पछिल्लोपटक पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि गरेपछि मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गर्दै आएको संयुक्त विद्यार्थी संगठनले टेकुस्थित नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेको हो ।
त्यस अवसरमा विद्यार्थी नेताहरुले आम जनता र विद्यार्थीहरुलाई चुल्हो समेत बल्न नदिने गरी एलपी ग्यासलगायतका पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै तत्काल फिर्ता लिन र आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलको राजीनामा माग गर्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए ।
सत्तारुढ नेकपा (माओवादी केन्द्र)मा आबद्ध विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी), नेकपा (एकीकृत समाजवादी)मा आबद्ध अनेरास्ववियुसहितका विद्यार्थी संगठनका नेताहरुले आयल निगमका भ्रष्ट कर्मचारीहरुलाई सामाजिक रुपमा बहिष्कार गर्न आह्वान समेत गरेका छन् ।
संयुक्त विद्यार्थी संगठनहरुले जनतालाई आहात हुने गरी बढाइएको मूल्यवृद्धि तत्काल फिर्ता गराउन प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहितका सत्तारुढ दलका नेताहरुलाई पनि दबाब दिइरहेका छन् ।
प्रतिक्रिया राख्नुहोस्