भारत जान लागेका नेपालीलाई एसएसबीले सीमाबाटै फर्काइदियो

रोजगारीका सिलसिलामा भारत जान लागेका नेपालीलाई सुदूरपश्चिमको गड्डाचौकीनाकाबाट भारतीय सीमा सुरक्षा बलका जवानहरुले नाकाबाटै फिर्ता पठाएको छ । गड्डाचौकीहुँदै भारत जाने नेपाली यात्रुलाई शनिबार भारतीय पक्षले सीमानाकाबाट फिर्ता पठाएको हो ।
यसअघि आधार कार्डका आधारमा नेपाली सीमा नाका हुँदै भारततर्फ जाँदै आएका थिए । जानकारी नै नदिई सीमा नाका बन्द गरिएपछि सीमा क्षेत्रमा पुगेका नेपालीहरु फर्कन बाध्य भएका छन् ।
नेपालीहरुलाई फिर्ता पठाइएपछि इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक वीरसिंह महताले भारतीय स्वास्थ्यकर्मीको टोली र अध्यागमनका कर्मचारीको टोली नआउँदा सीमा क्षेत्रमा नेपालीलाई प्रवेश गर्न नदिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार सीमा नाका प्रवेशमा नेपालीहरुलाई प्रवेश गर्न नदिएकोबारे आधिकारिक जानकारी भने प्राप्त हुनसकेको छैन, मेडिकल र अध्यागमनको टोली आइतबारसम्म आए प्रवेश दिइने जानकारी आएको छ ।
महताका अनुसार जानकारी नपाएर भारतीय सीमा क्षेत्र भएर फर्कने नेपालीहरुको सङ्ख्या ३० देखि ५० जना जति रहेको छ । दैनिक मजदुरी, स्वास्थ्योपचार र पेन्सन बुझ्नका लागि दैनिक नेपालीहरु सीमा नाका हुँदै भारततर्फ जाने गरेका छन् ।