नेपाल बन्दको असर : सार्वजनिक सवारी न्यून, बन्दकर्ताहरु पक्राउ
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दको असर देशका विभिन्न भागमा परेको छ । राजधानीमा बन्दका कारण सार्वजनिक यातायात काम मात्रै चलेका छन् ।

सार्वजनिक गाडीहरू कममात्र चल्दा काम विशेषले आज बिहानै गन्तव्यमा जान चाहनेहरुले सास्ती पाएका छन् । विशेष गरी लामो यात्रा गरेर बिहानै काठमाडौं उपत्यकामा भित्रिएका यात्रुहरू सार्वजनिक गाडी नपाउँदा अलपत्र परेका छन् ।
कलंकी, नयाँबसपार्क, कोटेश्वर, बल्खु, बालाजुलगायतका स्थानमा यात्रुहरू गाडी कुरिरहेका देखिन्छन् । काठमाडौं उपत्यकाबाट बाहिरिने गाडीहरू पनि निकै कम छन् ।
काठमाडौं उपत्यकाभित्र निजी कार र मोटरसाइकलहरू भने चलिरहेका छन् । तर ती पनि अघिल्ला दिनको तुलनामा कमैमात्र चलेका छन् ।
काठमाडौं उपत्यकाका चोकचोकमा सुरक्षाकर्मीहरूको तैनाथी बढाइएको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले बन्दको क्रममा कुनै अप्रिय घटना नभएको जानकारी दिनुभयो ।
उहाँका अनुसार महाराजगञ्जबाट तीन जना र साँखुबाट दुई जना गरी पाँच जना बन्दकर्ता पक्राउ परेका छन् । पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै सो पार्टीले नेपाल बन्दको आव्हान गरेको हो ।
त्यसै गरी तनहुँको बन्दीपुरमा बन्द गराउन सडकमा खटिएका नेकपाका ११ जना कार्यकर्ता दमौलीबाट पक्राउ परेका छन् । आज बिहानैदेखि नेपाल बन्द गराउन सडकमा खटिएका विप्लव निकट सो पार्टीका ११ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
ट्राफिक चोकबाट जिल्ला सेक्रेटरी एटम, व्यास नगर इन्चार्ज ओम पन्त, मजदुर जिल्ला अध्यक्ष हिमाल खड्का, अखिल क्रान्तिकारी जिल्ला सचिव शिव सदाशङ्करलगायत पक्राउ परेको सो पार्टीका जिल्ला इञ्चार्ज पूर्णजित पुनले जानकारी दिनुभयो । पक्राउ परेका नेता कार्यकर्तालाई तत्काल रिहा गर्न उहाँले माग गर्नुभयो । नेपाल बन्दका कारण दमौली बजार बिहानैदेखि सुनसान छ ।
प्रतिक्रिया राख्नुहोस्