दिल्लीको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस, प्रदूषण नाजुक अवस्थामा, लकडाउनको प्रस्ताव
भारतको दिल्लीमा न्यूनतम तापक्रम १० डिग्री सेल्सियनमा झरेको छ । तापक्रम घट्दै गएपछि मङ्गलबार अत्यन्त जाडो महसुस गरिएको दिल्लीका बासिन्दाले बताएका छन् । भारतको मौसम विज्ञान विभागले मङ्गलबारको अधिकताम तापक्रम भने २७ डिग्री सेल्सियससम्म पुगेको जनाएको छ ।

भारतको केन्द्रीय राजधानीसमेत रहेको दिल्लीमा एकातिर चिसो बढीरहेको छ भने अर्कातिर प्रदूषणको असर पनि बढीरहेको छ । वायुको गुणस्तर मङ्गलबार ३९६ रहेकोमा बुधबार घटेर ३७९ मा पुगेको अधिकारीले जानकारी दिएका छन् ।
तिहारको बेला अत्यधिक धेरै पटका पड्काइएकाले वायु प्रदूषण बढेर खतरापूर्ण अवस्थामा पुगेको हो । प्रदूषण धेरै हानिकारक अवस्थामा पुगेकाले केही समय लकडाउन गर्न सरोकारवालाले सुझाव दिएका छन् । चिकित्सकले पनि केही दिन घरबाहिर ननिस्कन र विषेश गरेर बालबालिकालाई प्रदूषणबाट जोगाउन ध्यानाकर्षण गराएका छन् ।
भारतको दिल्ली सरकारले मङ्गलबार भारतको राजधानी शहरमा प्रदूषण नियन्त्रणका लागि आपतकालीन बैठकद्वारा एक हप्ताको लागि घरबाट काम गर्ने र सप्ताहन्तमा लकडाउन गर्ने प्रस्ताव गरेको छ।
यसबाहेक दिल्ली सरकारले निर्माण र औद्योगिक गतिविधिमा प्रतिबन्ध लगाउन सिफारिस गरेको छ। संघीय सरकार र दिल्ली, पञ्जाब, हरियाणा र उत्तर प्रदेशका प्रतिनिधिहरू, सम्बन्धित सरोकारवालाहरू बीचको बैठकलाई भारतको सर्वोच्च अदालतले दिल्लीको विषाक्त वायु संकटसँग लड्न आदेश दिएको थियो जसका कारण विद्यालयहरू बन्द भएका छन् ।
“आजको पञ्जाब, हरियाणा, उत्तर प्रदेश, हरियाणाका अधिकारीहरूसँगको बैठकमा हामीले (दिल्ली सरकारले) केन्द्रीय राजधानी क्षेत्र (एनसीआर) मा घरबाट काम गर्न लागू गर्नुपर्ने प्रस्ताव राख्यौं,” दिल्लीका वातावरणमन्त्री गोपाल राईले मिडियालाई भने। मन्त्री राईले “निर्माण कार्यमा प्रतिबन्ध लगाउनुपर्ने र एनसीआरमा उद्योगहरू पनि बन्द गर्नुपर्ने बताएका छन् । उनले बताएका छन् कि दिल्ली सरकारले सप्ताहन्तमा लकडाउनको प्रस्ताव गरेको छ र तिनीहरू यसका लागि तयार छन्।
‘अब अदालतको निर्देशनमा भर पर्छ,’ उनले भने । दिल्ली सरकारले राजधानीको वायु प्रदूषण बढ्नुमा छिमेकी राज्यहरूमा पराल जलाएको आरोप लगाउँदै आएको छ। सोमबार संघीय सरकारले पराल जलाउँदा वायु प्रदूषणको चार प्रतिशत वृद्धि भएको बताएको छ ।
नोभेम्बरको शुरुदेखि नै विषाक्त धुवाँसँग लडिरहेको दिल्लीले शनिबार आपतकालीन उपायहरू अपनाउँदै विद्यालयहरू बन्द गर्न र निर्माण कार्य चार दिनका लागि बन्द गर्न आग्रह गरेको थियो । भारतको राजधानी दिल्ली विश्वको सबैभन्दा प्रदूषित शहरको सूचीमा परेको छ । औद्योगिक गतिविधिहरू र अत्यधिक सवारी साधनको चाप शहरको वायु प्रदूषणको मुख्य कारक बनेको छ ।
प्रतिक्रिया राख्नुहोस्