नेपाली जनताले पाँच वर्षका लागि आफ्ना प्रतिनिधि चयन गर्ने दिन संघारमै आइपुगेको छ । मंसिर ४ गते आगामी पाँच वर्षका लागि देशको भाग्य, भविष्य निर्माणका लागि प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ ।

देश र जनताको भविष्य निर्माणको जिम्मेवारी लिन तम्सेका उम्मेदवार र आफ्ना उम्मेदवारलाई जिताउन लागिपरेका नेताहरुको शैली र सोचले यो देशमा राजनीतिक संस्कार र संस्कृतिको चरम अभाव भएको देखिन्छ ।
एकले अर्कालाई गालीगलौज गरेर, दोषी देखाएर, खराब बताएर आफूलाई असल ठान्ने परिपाटीको हाँगा व्यापक रुपमा फैलिइरहेका बेला केही उम्मेदवारहरु भने सभ्य राजनीतिक संस्कार र संस्कृति प्रदर्शन गरिरहेका छन् । उनीहरु अरुलाई दोषी देखाएर हैन, अरुको आलोचना गरेर हैन, आफ्नो क्षमता, विद्वता, दृष्टिकोण र योजना अघिसारेर चुनाव प्रचार गरिरहेका छन् । यस्तै श्रेणीको नेतामा पर्नुहुन्छ कास्की क्षेत्र नं. २ का लागि प्रतिनिधिसभा उम्मेदवार विद्या भट्टराई ।
उच्च शिक्षित र संस्कारित हुँदै विश्वविद्यालयमा प्राध्यापन पनि गरिसकेकाले होला भट्टराईमा सहिष्णुृता देखिन्छ, जनतालाई भ्रममा पार्ने सोच पटक्कै छैन अनि अरुलाई गाली गरेर भोट मोग्ने लालच पनि छैन । कास्की क्षेत्र नं. २ मा उहाँको निर्वाचन प्रचारप्रसार र सामाजिक संजालहरुमा भएका पोस्टहरुले यस्तै देखाउँछ ।
विद्या भट्टराईलाई म प्रत्यक्ष चिन्दिन । उहाँ रत्नराज्यलक्ष्मी क्याम्पसमा समाजशास्त्र पढाउनुहुन्छ भन्ने थाहा थियो । तर उहाँ विद्यार्थीकालदेखि राजनीतिमा होमिएको भन्ने पछिल्लो समयमा मात्र थाहा पाएँ । विद्यार्थी राजनीतिको उत्कर्षमा पुगेका बेला उहाँले सक्रिय राजनीतिबाट विश्राम लिनुभएको रहेछ । तर, परिवन्दले उहाँलाई पुनः राजनीतिमा होम्यो । सायद विद्यार्थीकालमै नेतृत्वमा पुगिसकेकाले पनि होला उहाँमा उच्च राजनीतिक संस्कार देखिएको । राजनीति आफ्ना लागि हैन, देश र समाजका लागि भन्ने मूलमन्त्र उहाँले पालना गर्नुभएको पाइन्छ ।
कसैको बारेमा कुनै धारणा बनाउन उसका विचारहरु नै पर्याप्त हुन्छन्, संसद होस् वा संसदीय समिति अनि विभिन्न कार्यक्रमहरुमा विद्याले बोलेका कुराहरुबाटै भन्न सकिन्छ उहाँमा काम गर्ने हुटहुटी छ र अरुको आलोचना नगरी पनि राजनीति गर्न सकिन्छ भन्ने दृढता छ । यसको झलक चुनाव प्रचारका क्रममा प्रष्ट देखिन्छ ।
माथि नै भनियो कि प्रतिस्पर्धाका नाममा एकले अर्कोलाई गालीका वाण हानेर मतदातालाई आकर्षित गर्ने गलत अभ्यासमै अधिकांश नेता वा उम्मेदवारहरु लागिरहँदा विद्या भट्टराई शालिनतापूर्वक अरुका कुरा सुनेर, आफ्ना कुरा भनेर जनतामा नेता भनेको कस्तो हुनुपर्छ भन्ने अलग प्रभाव पार्दै हुनुहुन्छ ।
राजनीतिक नेतृत्व सिद्धान्तनिष्ट, स्वाभिमानी र दूरद्रष्टा भएमा मात्र राजनीतिक वातावरण स्वस्थकर र चुनावी प्रतिस्पर्धा पनि वास्तविक जनप्रतिनिधित्वप्रति प्रेरित र निर्देशित बन्नसक्छ । केवल सत्ताकेन्द्रित राजनीतिले देशको विकास र समृद्धि सम्भव हुँदैन । तर पनि नेपालको वर्तमान राजनीति सत्ताका खेलाडीहरूको स्वार्थवृत्तमा मात्र घुमिरहेको छ । तर, विद्या भट्टराई स्वार्थको हैन सेवाको राजनीतिमा सक्रिय हुनुहुन्छ, त्यी अभीष्टमा तल्लिन हुनुहुन्छ ।
नेपाली जनमानसमा दह्रो पकड जमाएका राजनीतिक नेताहरूप्रति भरोशा टुट्दै गएको छ । व्यवस्था परिवर्तनका संवाहक मानिएका दलहरु अवस्था परिवर्तन गर्न अक्षम भए भन्दै आलोचनाा हुँदै गर्दा विद्या भट्टराई जस्ता शालिन नेताहरु राजनीतिक रंगमंचमा उदाइरहनु सकारात्मक मात्र हैन मुलुकको आवश्यकता नै हो ।
निर्वाचनमय वर्तमान परिवेशमा देखिइरहेका विद्वेषपूर्ण र दुष्प्रचारबाट सिंगो राजनीति मात्र हैन वर्तमान व्यवस्था नै धमिलो हुँदै गएको आम अनुभूति र दलबाट हैन स्वतन्त्रबाट मात्र देशले गति लिन्छ भन्ने मान्यतालाई जवर्जस्त स्थापित गर्ने प्रयास भैरहेका बेला विद्या भट्टराई जस्ता शालिन, सस्कारी र सहिष्णु राजनीतिक व्यक्तित्व संसदमा उपस्थित हुनु हामी सबैका लागि गर्वको विषय हो ।
विद्या नाम जस्तै विद्याकै खानी हुनुहुन्छ । उहाँको व्यवहारबाट पनि उहाँ विद्या नै हो भन्ने स्पष्ट हुन्छ । एउटा अशल र कुशल शिक्षक नै समाज रुपान्तरणकर्ता हुन्छ भन्ने इतिहासले देखाएकै छ । चाणक्यको असल र कुशल शिक्षाबाट मौर्य साम्राज्य खडा भयो । एउटा बनबासी सम्राट बन्यो । तसर्थ, विद्याको गुण, क्षमता र विद्वता आम नेपाली जनताको हितमा उपयोग हुनुपर्छ ।
यसका लागि उहाँको संसद प्रवेश हुनैपर्छ । एउटा प्राध्यापकका रुपमा उहाँले जेजति सेवा गर्नुभयो, त्यसको अनुभवलाई सिंगो देशको हितमा उपयोग गराउने अवसर कास्केली जनताले दिनुपर्छ ।
प्रतिक्रिया राख्नुहोस्