बिचार

शक्तिको उन्मादले नछोएको असाधारण व्यक्तित्व

२०७५ सम्म विद्या भट्टराईलाई राजनीतिक नेता र उहाँका समकक्षी बाहेक अन्यले एउटा प्राध्यापकका रुपमा मात्र चिन्दथे । हुन पनि उहाँ तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्व. रवीन्द्र अधिकारीकी धर्मपत्नी हुनुहुन्थ्यो, तर उहाँले आफू मन्त्राणी भनेर कहिल्यै कुनै व्यवहार प्रदर्शन गर्नुभएन ।

पति मन्त्री भएपछि पत्नीहरुमा देखिने उन्माद उहाँमा पटक्कै थिएन, परिणामतः उहाँ विश्वविद्यालयका विद्यार्थीहरुलाई शिक्षा प्रदान गर्नमै सक्रिय रहनुभयो । मन्त्राणी बनेर दम्भ पालेर बस्ने सोच कहिल्यै भएन । यसैको प्रतिफल उहाँ अहिले जनताका नेता कहलिनु भएको छ ।

देशको ढुकढुकी बनिरहेका, विकास र समृद्धिको अभियान छेडिरहेका, जस्तासुकै विवाद र आरोपहरुको डटेर सामना गर्दै आफ्नो लक्ष्यमा निरन्तर लम्किरहेका जीवनसाथी रवीन्द्र अधिकारीको कार्यक्षेत्रमा रहेकै बेला २०७५ साल फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि बाध्यताकै उपज मान्नुपर्छ विद्याको पहिल्यै स्थापित तर सुसुप्त रहेको राजनीतिक यात्रा सक्रिय भयो । मुलुकले एक शिक्षित, सुशील, सक्षम र इमानदार नेता पायो ।

उपनिर्वाचनमा सानदार विजयपछि अहिले नेकपा एमालेले उहाँलार्ई कास्की इोत्र नं. २ मा पुनः उम्मेदवार बनाएको छ । छोटो अवधिको सांसद पदमा रहँदा उहाँले गर्नुभएका काम, सांसदका रुपमा निर्वाह गर्नुभएको भूमिकाले यो पुस्ताका शिक्षितहरुलाई प्रभावित तुल्याएको छ र उहाँले सांसद भनेको के हो र कस्तो हुनुपर्छ भन्ने पनि देखाउनुभयो ।

स्व. रवीन्द्र अधिकारीको विकास प्रेम, समृद्धिको खाका र उहाँले मुलुकको समृद्धिका लागि हिंड्नुभएको अविचलित यात्रालाई पछ्याउने सबभन्दा उपयुक्त पात्र विद्या नै हो र यसलाई कास्की निर्वाचन क्षेत्र नं. २ का जनताले मात्र हैन सिंगो देशले नै भनिरहेको छ । विद्या सांसद मात्र हैन कि आफ्नो विज्ञता अनुसारको सरकारी जिम्मेवारी नै दिनुपर्ने र निर्वाह गर्नसक्ने क्षमता भएकी नेतृ हुनुहुन्छ भन्ने बौद्धिक क्षेत्रको टिप्पणी छ ।

२०२९ साल कार्तिक २९ गते काठमाडौंमा जन्मनुभएकी विद्या १२ वर्षको कलिलो उमेरमै राजनीतिमा होमिनुभएको थियो । विद्यार्थी राजनीतिमा उचाई चढ्दै गर्दा रवीन्द्र अधिकारीसंग विवाह गरेपछि सक्रिय राजनीतिबाट विश्राम लिएर घर–परिवारको जिम्मा लिंदै रवीन्द्रको राजनीतिक यात्रालाई सहज बनाइदिनुभयो उहाँले ।

विद्यालय जीवनमा १२ वर्षको उमेरमै सक्रिय राजनीतिक कार्यक्रम र आन्दोलनमा सहभागी हुनुभएकी विद्या २०४२ सालमा पशुपति मित्र मावि चावहिल काठमाडौंमा ७ कक्षामा अध्ययनरत रहँदाकै अवस्थामा अनेरास्ववियुले आयोजना गरेको सरसफाई आन्दोलन हाजिरी जवाफ वक्तृत्वकला र वृक्षारोपण आदिमा सक्रिय हुनुहुन्थ्यो ।

२०४५ सालमा भारतले लगाएको नाकाबन्दी विरुद्धमा अनेरास्ववियुले आयोजना गरेको आन्दोलनका कार्यक्रमहरुमा विभिन्न स्कुलहरुमा विद्यार्थीलाई संगठित गर्ने अभियानमा लाग्दै आफ्नो राजनीतिक चेतलाई निखार्नुभएकी उहाँले २०४७ सालमा पद्मकन्या क्याम्पसको प्रारम्भिक कमिटिमा आबद्ध हुदै सक्रिय रुपमा सहभागी हुनुभयो ।

२०४७ सालमा अखिल नेपाल महिला संघ जिल्ला समिति काठमाडौंको कोषाध्यक्षमा निर्वाचित उहाँले काठमाडौंका विभिन्न ठाउँहरुमा महिलालाई संगठित गर्न सक्रिय हुनुभयो । सोही साल जनसांस्कृतिक परिवारको सदस्य हुँदै नेकपा (एमाले)को संगठित सदस्य बन्नुभयो ।

२०४८ सालमा अनेरास्ववियु जिल्ला कमिटी सदस्यको हैसियता पोखरामा सम्पन्न एघारौ राष्ट्रिय सम्मेलनबाट राष्ट्रिय परिषदमा निर्वाचित विद्या २०४८ मा १८ वर्षकै उमेर नेकपा (एमाले) वडा कमिटी सदस्य बन्नुभएको थियो । २०४९ मा पद्मकन्या क्याम्पस स्ववियुमा सभापतिमा उम्मेदवारी दिनुभयो भने २०५० सालमा अनेरास्ववियु महिला विभाग प्रमुखका रुपमा सक्रिय हुनुभयो ।

महिला र विद्यार्थी मोर्चामा सक्रिय रहँदाकै अवस्थामा उहाँ २०५५ मा अनेरास्ववियुको केन्द्रिय सचिव बन्नुभयो । २०५६ मा अखिल नेपाल महिला संघ केन्द्रिय सदस्य र कार्यालय सचिव तथा २०५७ सालमा बुद्धिजीवी परिषदको सदस्य बन्न सफल हुनुभयो ।

२०५६ साल असार २६ गते उहाँले तत्कालीन विद्यार्थी नेता रवीन्द्र अधिकारीसंग जनवादी विवाह गर्नुभयो । त्यसपछि उहाँको जीवनले अर्को मोड लियो । सक्रिय राजनीतिबाट थोरै विश्राम लिएर परिवार, अध्ययन र अध्यापन पेशामा सक्रिय हुनुभयो । २०५८ मा कास्कीको पृथ्वी नारायण क्याम्पस, पोखराबाट प्राध्यापन पेशा सुरु गर्नुभयो ।

२०५९ सालदेखि आंशिक शिक्षकका रुपमा प्राध्यापन पेशा सुरु गर्दै विभिन्न अध्ययन र अनुसन्धानका कामहरुमा सहभागी हुनुभएकी उहाँले महिला विरुद्ध हुने घरेलु हिंसा, सुरक्षित मातृत्व, महिला नेतृत्व र विकास, अन्तर्राष्ट्रिय महिला महासन्धि र नेपालको अवस्थाका बारेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका कार्यशालाहरुमा कार्यपत्र पेश गरेर आफ्नो बौद्धिकता प्रदर्शन गर्न सफल हुनुभयो ।

देशको राजनीतिक परिवर्तन होस् वा सामाजिक विकृति–विसंगती त्यसबिरुद्ध सद्धा सक्रिय रहने विद्यामा अनेरास्ववियु प्रारम्भिक कमिटी, जिल्ला कमिटी अंचल कमिटी हुँदै केन्द्रिय कमिटीमा काम गरेको अनुभव छ । प्राध्यापन पेशामै रहँदा २०६२।०६३ को आन्दोलनमा सक्रिय सहभागिता जनाउनुभएकी उहाँ २०६४ मा नेकपा एमाले केन्द्रिय संघीय मामला विभाग सदस्य बन्नुभयो ।

त्यस्तै २०६२ देखि २०६४ सम्म उच्चशिक्षा पाठयक्रम निर्माण समितिको सदस्य तथा २०६६ मा नेकपा (एमाले) प्राध्यापक इलाका कमिटीमा सामुदायिक क्याम्पसका तर्फबाट प्रतिनिधित्व गर्दै उपाध्यक्ष बन्नुभयो ।

२०६७ देखि २०७० सम्म सार्क स्तरीय महिला सञ्जालमा वकालत गर्ने सामाजिक संस्था “वियोण्ड वेइजिङ कमिटी”मा कार्यक्रम सयोजकको रुपमा कार्यरत उहाँले २०७२ सालमा त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा एमफिल गर्नुभयो । त्यसपछि त्रिविको खुल्ला सेवा आयोग परीक्षा पास गरी स्थायी रुपमा उपप्राध्यापक पदमा उत्तीर्ण हुनुभयो ।

आफ्ना पति तीनपटक संसदमा पुग्दा र मन्त्री बन्दा पनि उहाँले आफ्नो शिक्षण पेशा छाड्नुभएन । अकल्पनीय परिस्थितिले उहाँलाई राजनीतिमा उत्तराधिकारीका रुपमा अघि सार्यो र त्यसमा सफल पनि हुनुभएको छ ।

कास्कीको छोरा रवीन्द्र देशकै छोरा बन्दै गर्दा, अकल्पनीय अवस्थाको सामना गर्न बाध्य विद्या भट्टराई अहिले सक्रिय राजनीतिको दोस्रो अध्यायमा हुनुहुन्छ । उच्च राजनीतिक संस्कार, संस्कृति र सहिष्णु व्यवहारले जो कोहीले सम्मान गर्न बाध्य हुने उहाँको व्यक्तित्वमा स्व. रवीन्द्र अधिकारीकै व्यवहारकुशल छाप देखिन्छ, जुन राजनीतिक आस्थाका आधारमा नेता हुनेहरुका लागि चुनौति पनि हो । किनभने उहाँको व्यक्तित्व दलीय नेताको मात्र हैन कि जनताको नेताको बनिसकेको छ ।

मुलुकको समृद्धिका लागि क्षमतवान, शिक्षित, बौद्धिक र भविष्य हेर्नसक्ने नेताको खाँचो पर्दछ । यस्तै नेतामध्येमा एक पर्नुहुन्छ विद्या भट्टराई । उहाँको जीत मुलुकको विधि निर्माणमा एक सक्षम व्यक्तित्वको जीत हुनेछ, जनताको जीत हुनेछ

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.