बन्द हुनु पूर्व नै टिकटकले २९ लाख ८० हजार नेपाली भिडिओ हटाएको (पत्रसहित)
सरकारले सामाजिक सद्भाव खलबलिएको भन्दै नेपालमा टिकटक प्रतिबन्ध गर्ने निर्णयमाथि प्रश्न उठाउँदै टिकटक कम्पनीले नेपाल दूरसंचार प्राधिकरणलाई पत्र लेखेको छ । पत्र लेख्दै टिकटकले मापदण्ड विपरीत रहेको २९ लाख ८० हजार भिडियो हटाएको पनि जनाएको छ ।

टिकटक, दक्षिण एसियाको सार्वजनिक नीति तथा सरकार सम्बन्ध प्रमुख फेरडोस मोटाकिनले प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनाललाई सम्बोधन गर्दै गत सोमबार लेखेको पत्रमा बन्द गर्नुपर्ने वास्तविक कारणबारे आफूलाई जानकारी दिन अनुरोध गरेको छ।
कात्तिक २७ गते सोमबार बसेको मन्त्रिपरिषद बैठकले नेपालमा टिकटक नेपालमा बन्द गर्ने निर्णय गरेको थियो । त्यही दिन त्यसको जानकारी प्राधिकरणमार्फत इमेल गरी टिकटकलाई दिइएको थियो।
त्यसको जवाफमा टिकटकले नेपाल सरकारको यो निर्णयप्रति आश्चर्य व्यक्त गर्दै नेपाल सरकारको यो निर्णयबाट यो प्लेटफर्ममार्फत लाखौं नेपाली जनताले रचना र खुसी साटे, उनीहरू जस्तै हामी पनि आश्चर्यचकित भएको बताइएको छ ।
पत्रमा भनिएको छ, यो प्लेटफर्मलाई छोटो समयमै नेपालका विभिन्न क्षेत्र, संस्कृति र सामाजिक आर्थिक तहका मानिसहरूले अँगालेका र यसबाट सूचना तथा शिक्षा, मनोरञ्जन तथा प्रेरणा आदानप्रदान गर्न प्रयोग गरेको स्मरण गराउँदै नेपाल सरकारको टिकटक प्रतिबन्धको निर्णयले कम्पनीको लगानी योजनामा असर पर्नुका साथै युवा पुस्ताका नेपाली कन्टेन्ट क्रिएटरहरूलाई समेत असर गर्ने बताइएको छ ।
नेपालका थुप्रै युवाले टिकटकमार्फत व्यवसाय सञ्चालन गरेको र यसरी बन्द गर्दा उनीहरूको व्यवसायमै समस्या आउने भन्दै टिकटकले चिन्ता समेत व्यक्त गरेको छ।
प्रयोगकर्ताको सुरक्षा आफ्नो पहिलो प्राथमिकता भएको उल्लेख गर्दै टिकटकले आफ्नो प्लेटफर्मलाई सुरक्षित र स्वागतयोग्य वातावरण सुनिश्चित गर्न प्रतिबद्ध रहेको पनि जनाएको छ।
टिकटकले भनेको छ,”हामी सामाजिक सदभावको मापदण्डभन्दा बाहिर पर्ने कन्टेन्ट र मानिसका व्यवहारहरू सम्बोधन गर्छौं। यसका लागि हामीले नीतिहरू र प्रविधिहरू व्यवस्था गरेका छौं। यिनले त्यस्ता मापदण्ड उल्लंघन गर्ने कन्टेन्ट र टिकटक खाता हटाउने काम पनि गर्छन्।”
प्राधिकरणलाई लेखेको पत्रमा विश्वव्यापी प्लेटफर्म भएकाले संसारभर हजारौं कर्मचारीहरू प्रयोगकर्ताका लागि सुरक्षित वातावरण तय गरिराख्नका लागि काम गरिरहेको जनाउँदै नेपालमा टिकटक सञ्चालनका निम्ति गरेका केही प्रयासहरूबारे पनि प्रकाश पारेको छ।
टिकटकका प्रतिनिधिहरूले गत कात्तिक १७ गते (नोभेम्बर ३) गृह मन्त्रालय अन्तर्गत साइबर अपराध नियन्त्रण र साइबर सुरक्षाको कमिटीसँग भेटघाट गरेको पत्रमा उल्लेख गरिएको छ।
त्यस्तै गत असोज १८ गते (अक्टोबर ५ मा) नेपालमा इन्टरनेट सुरक्षा सचेतना सम्बन्धी अभियान चलाउन सहमति पत्रमा हस्ताक्षर गरेको टिकटकले जनाएको छ।
टिकटकले पत्रमा उल्लेख गरेको छ, “हामीले नेपाल सरकारलाई गत जेठ २४ गते (जुन ७) मा नेपालको कानुनद्वारा वर्जित कुनै पनि सामग्री हटाउन सिधै अनुरोध गर्न सकिने पोर्टल, ‘ट्रस्ट एन्ड सेफ्टी इन्फोर्समेन्ट टूल’को पहुँच दिएका थियौं। त्यस्तै भदौ १२ गते डिजिटल सर्भिस ट्याक्स पेयरका रूपमा दर्ता पनि गरेका छौं।”
पत्रमा भनिएको, “मापदण्ड विपरीत रहेका २९ लाख ८० हजार नेपाली भिडिओहरू हटाएको पनि टिकटकले जनाएको छ। सन् २०२२ अक्टोबरदेखि सन् २०२३ जुनसम्म उक्त संख्यामा भिडिओहरू हटाइएको जनाउँदै यी सबै कुराहरूले हामी नेपाल सरकारसँग सहकार्य गर्न कति प्रतिबद्ध र प्रयासरत छौं भन्ने देखिन्छ । यसकारण टिकटक बन्द गर्ने निर्णय नेपाल सरकारसँगको हाम्रो सहकार्य विपरीत छ।”
प्रतिक्रिया राख्नुहोस्