कर्पोरेट/पर्यटन

आठ महिनापछि खुला गरियो बुद्ध जन्मस्थल लुम्बिनी

कोरोना भाइरस संक्रमण बढेसंगै गत चैत्र ११ गतेदेखि पर्यटकका लागि बन्द गरिएको बद्ध जन्मस्थल लुम्बिनी खुला गरिएको छ । लुम्बिनी बिकास कोषका योजना प्रमुख सरोज भट्टराईका अनुसार पर्यटकीय स्थलहरु खुला गर्ने सरकारको निर्णयसँगै कोषको पदाधिकारी स्तरीय बैठकले बुधबारदेखि लुम्बिनी क्षेत्र खुल्ला गर्ने निर्णय गरेको हो ।

लुम्बिनी क्षेत्रका होटल तथा पर्यटन ब्यवसायीहरुले लुम्बिनी क्षेत्र खुल्ला गर्न पटक पटक माग गर्दै आएका थिए । पर्यटकहरुलाई आकर्षित गर्न लकडाउनकै अवधिमा लुम्बिनी क्षेत्रमा सरसफाई गरेर चिटिक्क पारिएको छ ।
पर्यटकीय गतिविधि बढाउन लुम्बिनी विकास कोषले कोरोना संक्रमणबाट जोगिन र सजगता अपनाउनका लागि पर्यटक बोक्ने ट्याक्सी तथा रिक्साहरुलाई सुरक्षा तालिम दिएको छ ।

यस्तो निर्णयसँगै अब पर्यटकहरु मायादेवी मन्दिर परिसरमा रहेका अशोक स्तम्भ, पुष्करिणी पोखरी र बगैचा लगायतका स्थानहरुमा घुम्न सक्नेछन् । लुम्बिनी क्षेत्र खुल्ला गरिए पनि मायादेबि मन्दिर भने अझै खुल्ला गरिएको छैन् । योजना प्रमुख भट्टराईले तत्कालका लागि मन्दिर खुल्ला गर्ने निर्णय नभएको बताउनुभयो ।

उहाँका अनुसार लुम्बिनी क्षेत्र घुम्नेहरुका लागि स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य गरिएको छ । पर्यटकहरुले अनिवार्य रुपमा मास्क लगाउनुपर्नेछ । बिभिन्न स्थानहरुमा ज्वरो नाप्ने,हातमुख धुने लगायतका ब्यवस्था गरिएको छ । सुरक्षाकर्मी र कोषका कर्मचारीहरुले स्वास्थ्य सुरक्षा मापदण्डबारे निगरानी गर्नेछन् ।

सम्बन्धित खबर

Back to top button