कर्पोरेट/पर्यटन

पर्यटकलाई लोभ्याउँदै जखेरा ताल

दाङको लमही नगरपालिका–३ मा पर्ने जखेरा ताल जिल्लाकै उत्कृष्ट पर्यटकीय केन्द्रका रुपमा परिचित भएको छ । तालको मनमोहक दृश्यले त्यहाँ पुग्ने पर्यटकलाई लोभ्याउने गरेको छ । चुरे पहाडको फेदमा रहेको पूर्व तथा पश्चिम सिमानामा वन तथा जङ्गल, दक्षिण तर्फ चिटिक्क परेको मुसुण्डी गाउँ तथा उत्तरतर्फ चुरे पहाड र सो पहाडकोबीचमा पर्ने जखेरा तालको मनमोहक दृश्यले सबैलाई लोभ्याउने गरेको छ ।

जखेरा ताल

ताल अवलोकन गरेर फर्कनेलाई फेरि जाऔँ जाऔँ लाग्ने गरेको छ । तिहार अघि त्यस क्षेत्रमा ताल अवलोकन तथा घुमघाम वनभोज खानको लागि दैनिक तीन सयदेखि चार सय सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको जखेरा तालको रेखदेख गर्दै आउनुभएका ओमभक्त चौधरीले जानकारी दिनुभयो ।

तिहारको समयमा त जखेरा क्षेत्र घुम्न आउनेको सङ्ख्या अन्य दिनको तुलनामा धेरै नै बढेको चौधरी बताउनुहुन्छ । उहाँका अनुसार १२ बिघा जमिन त्यहाँ रहेपनि हाल साँढे ७ बिघा क्षेत्रफलमा ताल रहेको छ । अन्य स्थानमा भने वन जङ्गल रहेको छ । सो तालको गहिराई सात फिट छ । तालको उत्तरतर्फ गणेशको तथा पूर्वमा सिद्धेश्वर महादेवको मन्दिर छ ।

यहाँ आउने पर्यटक डुङ्गा चढेर मन्दिर दर्शन गर्नुले पनि तालको आकर्षणलाई थप बढाएको छ । त्यसैगरी तालको मुख्य आकर्षणमा भगवान् गौमबुद्धको मूर्ति, वनभोजस्थल, फूल बगैँचा, जलविहार, प्राकृतिक पद यात्रा, चरा तथा अन्य जीवजन्तुको अवलोकन लगायतका रहेका छन् ।

तालमा डुङ्गा चढ्नको लागि पर्यटक निकै उत्साहित हुन्छन् । पाँचवटा मात्र डुङ्गा भएकाले पर्यटक याममा पालो कुनुपर्ने हुन्छ । केही पर्यटक ढुङ्गा चढन नपाएर फर्केने गरेको पनि समितिका कर्मचारी चौधरीले बताउनुभयो । एक जना पर्यटकले पूरै तालमा ढुङ्गा चढेर जलविहार गरेमा रु एक सय तथा मन्दिर दर्शनको लागि रु ५० मात्र शुल्क निर्धारण गरिएको छ ।

जखेरा तालको अवलोकन गर्नेका लागि तुलसीपुरबाट आउनुभएकी ४१ वर्षीया सरस्वती कँवरले आफू पहिलो पटक तालको अवलोकन गर्न आएको र यहाँको दृश्य देख्दा आनन्दित भएको बताउनु भयो । शिक्षण पेसाम संलग्न रहेको बताउने कुँवर भन्नुहुन्छ,“ताल धेरै रमणीय क्षेत्रमा रहेछ । यसलाई अझै सफा स्वच्छ तथा रमणीय राख्नको लागि सबै लाग्नु पर्छ । जसले गर्दा यहाँ धेरै आन्तरिक र बाह्य पर्यटक आउन सक्ने सम्भावना बलियो छ ।”

त्यस्तै तिहारको टीका लगाउन लमहीमा रहेको माइती घरमा आउनु भएकी तुलसीपुरकै ३९ वर्षीया शारदादेवी ओलीले यसपटक ताल क्षेत्रमा निकै सुधार भएको देख्दा खुसी लागेको बताउनुभयो । आफू चार वर्ष पहिले पनि सो ताल घुम्न गएको, त्यस समयमा भौतिक पूर्वाधार नभएको उहाँ सम्झनुहुन्छ । अहिले ताल क्षेत्र धेरै राम्रो भएको देख्दा आनन्द आएको प्रतिक्रिया उहाँले दिनुभयो ।

ताल यति रमणीयस्थलमा छ कि यो देख्दा त फेवा तालको झल्कोसमेत आउने गरेको ओली सुनाउनुहुन्छ । विगतका वर्षमा नागरिकको अथक श्रमदान र राज्यका निकायले गरेको सहयोगले नै अहिले ताल जिल्लाकै मुख्य पर्यटकीय केन्द्रका रुपमा परिचित भएको हो ।

जखेरा ताल संरक्षण समितिका उपाध्यक्ष रामसिंह केसी विगतमा ताल जलकुम्भी झार र माटोले पुरिएको बताउनुहुन्छ । जिल्ला भू–संरक्षण कार्यालय दाङ, कृषि विकास कार्यालय, राष्टपति चुरे संरक्षण कार्यक्रम काठमाडौँ, डिभिजन वन कार्यालय लमही, लमही नगरपालिका, लुम्बिनी प्रदेश सरकारले उपलब्ध गराएको रमकबाट ताल उत्खनन्, भौतिक पूर्वाधार निर्माण तथा ताल मर्मत गरेको उहाँले बताउनुभयो ।

तालको आफ्नै ऐतिहासिक पृष्ठभूमि छ । स्थानीय थारु भाषामा आकाशे पानी सङ्कलन भएर जम्मा हुने ठाउँलाई जखेरा भनिन्छ । विसं २०३० मा साविकको सोनपुर गाविस हालको लमही नगरपालिका–३ निवासी स्व दिपु चौधरीको नेतृत्वमा सोनपुर, टिकुलीगढ, फल्कापुर, श्री गाउँका स्थानीय वुद्धिजीवी मिलेर आकाशे पानी तथा वन क्षेत्रबाट बगिरहेको पानी सङ्कलन गरी सिँचाइ गर्नका लागि चुरे पहाडको फेदीमा कृत्रिम रुपमा खाडल खनी ताल बनाइएको हो । सोही ताल अहिले जखेरा तालको नाममा परिचित भएको छ ।

दाङको लमही बजारबाट छ किलोमिटर पूर्वमा रहेको सुनडबरी गाउँ हुँदै उत्तरतर्फ करिब दुई किलोमिटर टाढा सो ताल पर्छ । पूर्व–पश्चिम राजर्मागबाट नजिकै रहेकोले पनि भारत तथा तेस्रो मुलुकबाट पनि सो ताल हेर्न पर्यटक आउने गर्दछन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.