राजनीति

योग स्वस्थ जीवनका लागि उत्तम माध्यम हो : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले योग र ध्यान स्वस्थ जीवनका लागि उत्तम माध्यम भएको बताउँदै आज विश्वले नै योगलाई आत्मसात् गरेको बताउनुभएको छ ।

पतञ्जलि योगपीठ नेपालअन्तर्गत नवनिर्मित रत्न सर्राफ भवन, पतञ्जलि नेपाल र आस्था नेपाल टिभी तथा स्वदेशी समृद्धि कार्डको आज उद्घाटन गर्दै उहाँले आयुर्वेद औषधि विश्वले नै मानिसकेको र यसको कुनै असरसमेत नभएकाले यो जीवनोपयोगी भएको धारणा व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री देउवाले योग र ध्यान तथा आयुर्वेद औषधि निर्माण र प्रयोगमा योगऋषि स्वामी रामदेव बाबा र आयुर्वेद शिरोमणि आचार्य बालकृष्णजी महाराजले गर्नुभएको अनुसन्धान, प्रचार र योगदानको सराहना गर्नुभयो । सो अवसरमा प्रधानमन्त्री देउवाले नेपालमा आयुर्वेद औषधि प्रशोधन तथा उत्पादनका लागि गैरनाफामूलक उद्योग स्थापना र सञ्चालन गर्न उहाँहरुलाई सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री देउवाले बाबा रामदेव र आचार्य बालकृष्ण नेपाललाई माया गर्ने व्यक्ति भएको बताउँदै उहाँहरुले नेपाललाई गरेको विभिन्न सहयोगका लागि धन्यवाद दिनुभयो ।

कार्यक्रममा भर्चुअल माध्यमबाट जोडिनुभएका भारत सरकारका केन्द्रीय सडक परिवहन एवं राजमार्ग मन्त्री नितिन गडकरीले कोभिड–१९ बाट विश्व नै आक्रान्त भएका बेला पतञ्जलीजस्ता संस्थाले योगविज्ञान र आयुर्वेदका माध्यमबाट समाजमा गरेको सहयोग र मानिसमा सकारात्मक भावना उत्पन्न गर्नेलगायत काम गरेको भन्दै प्रशंसा गर्नुभयो ।

उहाँले बाबा रामदेव र आचार्य बालकृष्णले नेपाल र भारतका जडीबुटीमा अनुसन्धान, प्रशोसन, उत्पादन, औषधि निर्माण गरी मानव जीवनमा राहतको महत्वपूर्ण काम गरेको बताउनुभयो ।

नेपाल र भारतबीचको सम्बन्ध निकै पुरानो रहेको बताउँदै उहाँले दुई देशबीचको संस्कृति इतिहास र विरासत नै शक्ति भएको र यसलाई बढाउन दुवै देशबाट विभिन्न प्रयास हुँदै आएको उल्लेख गर्नुभयो ।

सो अवसरमा उहाँले अयोध्या–जनकपुर जोड्ने ४३६ किमी रामजानकी सडक र बुद्ध सर्किटमा पर्ने विभिन्न सडकको निर्माण भारत सरकारले तीव्र गतिमा गरिरहेको अवगत गराउँदै यसले दुई देशका संस्कृति सम्बन्ध निर्माण तथा पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण उपलब्धि हासिल हुने धारणा व्यक्त गर्नुभयो ।

बाबा रामदेवले योग, आरोग्य, प्रणायाम र आयुर्वेद औषधिका लागि नेपाल राजधानीका रुपमा दुनियाँको आकर्षणको केन्द्र बन्ने विश्वास व्यक्त गर्नुभयो ।

साथै उहाँले सबै मानिस एक ईश्वरका सन्तान भएको उल्लेख गर्दै सबै प्रकारका भेदभाव हटाएर सबै समान भन्ने भावनाका साथ अघि बढ्न आग्रहसमेत गर्नुभयो । आचार्य बालकृष्णले पतञ्जलिका माध्यमबाट नेपालमा गर्न लागेको योजनाबारेमा जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button