भूकम्पपीडितको अस्थायी आवास निर्माणका लागि एक अर्ब ४१ करोड निकासा
सरकारले पछिल्लो समय भएको भूकम्पबाट पीडितहरुका लागि अस्थायी आवास निर्माण गर्न पहिलो किस्ताबापतको रु एक अर्ब ४१ करोड निकासा गरेको छ ।

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सरकारी निर्णयका आधारमा जाजरकोट, रुकुमपश्चिम, बझाङ बाजुरा र सल्ल्यान जिल्लाका लागि उक्त रकम निकासा गरिएको हो ।
त्यसमध्ये सबैभन्दा बढी जाजरकोट र रुकुमपश्चिमका लागि रु ५०/५० करोड निकासा भएको प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार बझाङका लागि रु २५ करोड, बाजुराका लागि रु १४ करोड र सल्यानका लागि रु दुई करोड रकम निकासा भएको छ ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको गत कात्तिक २६ को निर्णयबाट भूकम्पप्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण कार्यविधि २०८० स्वीकृत भएको थियो ।
उक्त कार्यविधिले निर्दिष्ट गरेको भूकम्प प्रभावित लाभग्राहीको अस्थायी आवास निर्माणको पहिलो किस्ता दिने प्रयोजनका लागि उक्त रकम निकासा गरिएको खड्काले बताउनुभयो ।
उक्त रकम स्थानीय तहमार्फत लाभग्राही पहिचान गरी सम्बन्धित पालिकामार्फत जानेछ । प्राधिकरणले उल्लिखित कार्यविधि तथा प्रचलित कानुनले तोकेअनुसार लेखा राख्ने, लेखा परीक्षण गर्ने र गराउने व्यवस्था गर्न आदेशानुसार अनुरोध पनि गरेको छ ।
प्रति परिवारलाई ५० हजार रुपैयाँ दिने योजना छ । पीडितले वडामा गएर आवेदन दिएपछि स्थानीय तहले पीडित भएको प्रमाणित गरेर रकम वितरण गर्नेछ। भूकम्पले क्षति पुगको करिब ८० हजार घरधुरीलाई यो सुविधा दिने तयारी छ।
भूकम्पले सबैभन्दा धेरै क्षति जाजरकोट र रुकुम पश्चिममा भएको छ। मन्त्रालयका अनुसार जाजरकोटमा ९ हजार ७ सय ९४ घरमा पूर्ण क्षति, २४ हजार ७ सय ७ घरमा आंशिक क्षति, रुकुम पश्चिममा १६ हजार ५ सय ७० घर पूर्ण क्षति, ९ हजार ९ सय ६१ घरमा आंशिक, रुकुम पूर्वमा १ सय ८२ घरमा आंशिक क्षति, सल्यानमा १ सय २९ पूर्ण, ४ सय १८ आंशिक, रोल्पामा २५ घर पूर्ण क्षति र ८७ घरमा आंशिक क्षति, प्युठानमा ३१, दाङमा ७, जुम्लामा ५ घरमा आंशिक क्षति पुगेको थियो।
प्रतिक्रिया राख्नुहोस्