गौतमको दावी "म कुनै गुटमा छैन, पार्टीमा केही समस्या भए पनि विभाजन हुँदैन"
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली बिरोधी गुटका शक्तिशाली नेता उपाध्यक्ष बामदेव गौतमले नेकपामा केही समस्या आए पनि पार्टीमा विभाजन नआउने बताउनुभएको छ ।
शनिबार तुलसीपुर उपमहानगरपालिकाद्वारा आयोजित भेटघाट कार्यक्रममा उहाँले पार्टीभित्रका केही आन्तरिक समस्या समाधान गर्न आफूले निरन्तर पहल गरिरहेको जानकारी दिनुभयो । “म कुनै गुटमा छैन, म सधैं गुटको विपक्षमा हुन्छु उहाँले भन्नुभयो, “ मैले पार्टी एकतालाई जोड दिएको छु, पार्टी कुनै पनि हालतमा फुट्दैन ।”
पार्टी एकताका क्रममा देखिएका केही विषयलाई तत्कालीन सयममा समाधान नगरिदा अहिले समस्या आएको उहाँको भनाइ छ । उपाध्यक्ष गौतमले पार्टीमा दुई अध्यक्षले बैठकको कार्यसूची तय गर्ने र त्यही कार्यसूचीका आधारमा सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बस्ने बताउनुभयो ।
उहाँले पार्टीभित्र फरक विचार राख्नाले पार्टीलाई झनै चलायमान र सुदृढ बनाउने छ भन्नुभयो उपाध्यक्ष गौतमले मुलुक समृद्धिको मार्गमा अघि बढेको र सरकारले घोषण पत्रअनुसार काम गर्नुपर्ने समेत बताउनुभयो ।
गौतमले पार्टीभित्रको समस्याको कारण नेताले आफूलाई ढाँटेर हिँडनु रहेको बताउँदै भन्नुभयो पार्टीमा दुबै अध्यक्षको हैसियत बराबर भए पनि वरिष्ठताको आधारमा पहिला केपी शर्मा ओलीको नाम लेख्ने भन्ने कुरा भएको हो । पार्टी एकताका क्रममा भएका सहमति कार्यान्वयन नहुँदा समस्या उत्पन्न भएको छ ।
विधानमा दुई वटा अध्यक्षको सहमतिमा बैठक गर्ने भन्ने उल्लेख रहे पनि कहिले को सहमत नहुने र कहिले को सहमत नहुने परिस्थितिले गर्दा बैठकसमेत बस्न नसकेको स्पट पार्दैै गौतमले नेकपाभित्रको विवादलाई कुखुराको बानीसँग पनि तुलना गर्नुभयो ।
गौतमको तर्क थिायो ‘खोरमा पालेको हैन, छोडुवा कुखराले जब कुनै पनि खाने कुरा फेला पार्छ, त्यसले यति हल्ला मच्चाउँछ कि सारा कुखुरा त्यहीँ झुम्मिन पुग्छन्, । अहिले भएको त्यही हो र हामी पनि हल्ला सुनेपछि झुम्मिएर झगडा गर्ने खुकुराजस्तै भएका छौं ।’
प्रतिक्रिया राख्नुहोस्