अर्थ

सरकारको लक्ष्य सात प्रतिशतको आर्थिकवृद्धि, आधार के ?

कोरोनाा भाइरस संक्रमणको महामारी, प्राकृतिक विपत्तिले पुर्याएको जनधनको क्षति अनि नेपालको महत्वपूर्ण खाद्यान्न बाली धानमा भएको नोक्सानीकाबीच सरकारले चालू आर्थिक वर्षमा सात प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएको छ ।

अहिले बजारमा तरलता अभाव, विप्रेषण आप्रवाहमा अनपेक्षित कमी, वैदेशिक लगानी न्यून भए पनि संक्रमणको भय कम हुँदै विश्वकै अवस्था सामान्यतिर फर्कदै गर्दा सरकारले त्यो लक्ष्य लिएको हो । सरकारले लिएको लक्ष्य उक्त लक्ष्य भेटाउन समस्या नहुने अर्थ सचिव मरासिनीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले एकातिर तरलता अभाव रहे पनि त्यसअनुरुप ‘इकोनोमिक ग्रोथ’ पनि बढिरहेकाले अर्थतन्त्र चलायमान रहेको स्थिति हो । समष्टिगत अर्थतन्त्र स्थिर छ । गत वर्षको बेस नै सानो छ, त्यसैले ठूलो भोलममा पुग्न केही समस्या हुन्छ, तैपनि यसपाली सोचेको आर्थिक वृद्धिदर हासिल गर्न सक्छौँ ।”

सरकारले चालू आव २०७८÷७९ को बजेटमार्फत २०७८ चैतभित्र कोभिड– १९ विरुद्धको खोप सबैलाई उपलब्ध हुने भई आर्थिक क्रियाकलाप विस्तार हुने हुँदा सात प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने लक्ष्य लिएको हो । मुद्रास्फीति दर छ दशमलव पाँच प्रतिशतमा सीमित हुने प्रक्षेपण गरिएको छ ।

“करिब आठ महिनाको वस्तु तथा सेवा आयात धान्ने अवस्था छ । नयाँ वैदेशिक सहायताको नेगोसेसन पनि गर्दैछौँ, त्यसबाट पनि केही पैसा आउला । बैंकले पनि विदेशी रकम ल्याउन पहल गरिरहेका छन् हामीलाई समस्या भनेको पुँजीगत खर्च हुन नसक्नु हो”, सचिव मरासिनीले भन्नुभयो ।

उहाँले राजनीतिक अस्थिरता र मुलुकमा आइपरेका विभिन्न प्राकृतिक विपत्तिका घटनाले पनि आर्थिक बोझ बढेकामा पहिला बजेट त्यसपछि प्रतिस्थापन बजेटले पनि पुँजीगत खर्च बढ्न नसकेको टिप्पणी गर्नुभयो । सचिव मरासिनीले कर्जा वृद्धिदर बढेकाले पनि सात प्रतिशतको आर्थिक वृद्धिदर कायम गर्न समस्या नहुने बताउनुभयो ।

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी चालू आवको पहिलो तीन महिनाको तथ्याङ्कअनुसार वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फिीति चार दशमलव २४ प्रतिशत रहेको छ । छ प्रतिशतको लक्ष्य भने सहजै भेटिने अनुमान गरिएको छ । आयात ६३ दशमलव सात प्रतिशतले र निर्यात १०९ दशमलव पाँच प्रतिशतले बढेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा सात दशमलव छ प्रतिशत र अमेरिकी डलरमा सात दशमलव सात प्रतिशतले घटेको छ ।

सरकारले चालू आर्थिक वर्षका लागि रु १६ खर्ब ३२ अर्ब ८३ करोड बजेट विनियोजन गरेको थियो । कूल विनियोजित रकममध्ये सङ्घले खर्च गर्ने चालुतर्फ रु छ खर्ब ७७ अर्ब ९९ करोड अर्थात् ४१ दशमलव ५२ प्रतिशत, पुँजीगततर्फ रु तीन खर्ब ७९ करोड अर्थात् २३दशमलव१६ प्रतिशत, वित्तीय व्यवस्थातर्फ रु एक खर्ब ८९ अर्ब ४४ करोड अर्थात् ११दशमलव ६० प्रतिशत र प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ रु तीन खर्ब ८७ अर्ब ३० करोड अर्थात् २३दशमलव७२ प्रतिशत रहेको छ ।

शोधानान्तर स्थिति रु ७६ अर्ब १३ करोडले घाटामा छ । कूल विदेशी विनिमय सञ्चिति १० अर्ब ९८ करोड अमेरिकी डलर रहेको छ । विस्तृत मुद्राप्रदाय दुई दशमलव दुई प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १७ दशमलव नौ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्ककल एक दशमलव दुई प्रतिशतले बढेको छ र निजी क्षेत्रमाथिको दाबी सात दशमलव आठ प्रतिशतले बढेको पाइएको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १७ दशमलव दुई प्रतिशत र निजी क्षेत्रमाथिको दाबीको वृद्धिदर ३०दशमलव आठ प्रतिशत छ ।

उपभोक्ता मुद्रास्फिीति हेर्दा २०७८ असोज महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फिीति चार दशमलव २४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति तीन दशमलव ७९ प्रतिशत थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फिीति तीन दशमलव ६३ प्रतिशत र गैर खाद्य तथा सेवा समूहको मुद्रास्फिीति चार दशमलव ७२ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०७८/७९ को तीन महिनामा कूलवस्तु निर्यात १०९ दशमलव पाँच प्रतिशतले वृद्धि भई रु ६५ अर्ब पाँच करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १४दशमलव तीन प्रतिशतले वृद्धि भएको थियो ।

गन्तव्यका आधारमा भारत, चीन तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः १४७दशमल एक प्रतिशत, १९दशमलव चार प्रतिशत र २७ दशमल दुई प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७८/७९ को तीन महिनामा कूल वस्तु आयात ६३दशमलव सात प्रतिशतले वृद्धि भई रु ४७८ अर्ब ५२ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १२ दशमलव सात प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ४८दशमलव चार प्रतिशत, ५५ दशमलव दुई प्रतिशत र १२४ दशमलव दुई प्रतिशतले वृद्धि भएको छ

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.