जन सरोकार

म्याग्दीमा ७६ प्रतिशत भूकम्पपीडितका आवास पुनःनिर्माण

छ वर्षअघिको भूकम्पका कारण भत्किएका म्याग्दीका ७६ प्रतिशतभन्दा बढी निजी आवास पुनःनिर्माण गरिएको छ । विसं २०७२ को भूकम्पका कारण भत्किएका घर पुनःनिर्माणका लागि सम्झौता गरेका ७६दशमलव ५७ प्रतिशत लाभग्राहीले अन्तिम तथा तेस्रो किस्ता अनुदान लगेका जिल्ला आयोजना कार्यान्वयन इकाइ (आवास तथा भवन इकाइ) ले जनाएको छ ।

आयोजनाका प्रमुख वीरबल सुनारले पहिलो किस्ता लगेका ९८६ मध्ये हालसम्म ७५५ ले निजी आवास पुनःनिर्माण गरी सकेका जानकारी दिनुभयो । “एक हजार ६५ लाभग्राही पहिचान भएकामा ७९ जनाले सम्झौता नै गर्नुभएन”, उहाँले भन्नुभयो, “१८७ लाभग्राही अझैसम्म दोस्रो किस्ता अनुदान लिन आउनुभएको छैन ।”

यही मङ्सिर महिनाभित्र घर पुनःनिर्माण सकेर तेस्रो किस्ता अनुदान लिन नआउनेलाई लाभग्राहीको सूचीबाट हटाइने आयोजना प्रमुख सुनारले बताउनुभयो । विसं २०७४ मङ्सिरदेखि जिल्लाका हरेक स्थानीय तहमा प्राविधिक कर्मचारी खटाइ घर पुनःनिर्माण सुरु गरिएको थियो ।

सम्झौतालगत्तै पहिलो किस्ताबापत रु ५० हजार, दोस्रो किस्तावापत डिपिसी गरेपछि रु एक लाख ५० हजार र भवन बनाएपछि अन्तिम किस्ताबापत रु एक लाख अनुदान उपलब्ध गराउने कार्यविधि छ । दोस्रो किस्ता लगेर तेस्रो किस्ता लिने प्रक्रियामा रहेकाको सङ्ख्या २४ छ । पहिलो किस्ता लगेर घर पुनःनिर्माण सुरु गरे पछि दोस्रो किस्ता लिनै नआएकालाई ताकेता गरिएको छ ।

भूकम्पले चर्किएको पहाड खसेर पुरिएको रघुगङ्गा गाउँपालिका–२ र अन्नपूर्ण गाउँपालिका–८ मा पर्ने बैसरीलाई जोखिम बस्ती पहिचान गरी अन्यत्र जग्गा नभएका तीन घरधुरीलाई जग्गा खरिदका लागि अधिकतम थप रु दुई लाखका दरले उपलब्ध गराइएको थियो । यसैगरी पिप्लेका एक जनाले पनि जग्गा खरिदका लागि अनुदान पाउनुभएको छ ।

बेनी नगरपालिका–४ सिङ्गाका दुई परिवारलाई जिल्ला सहजीकरण समितिको निर्णयअनुसार सार्वजनिक जग्गामा घर निर्माण गरी बसोबास गराइएको थियो । बयासी जना प्रवलीकरण लाभग्राही भएकामा ४० लाभग्राही पुनःनिर्माणमा परिवर्तन गराइ घर पुनःनिर्माण गरेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.