डा. रावलद्वारा एमाले अध्यक्षमा उम्मेदवारी घोषणा
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीको १० औं महाधिवेशनमा आफूले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । आइतबार रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गरी उपाध्यक्ष डा. रावलले सो घोषणा गर्नुभएको हो ।

अध्यक्षमा केपी शर्मा ओली नै सर्वसम्मत रूपमा दोहोरिने प्रयास भइरहेको बेलामा उपाध्यक्ष रावलको घोषणाले सर्वसम्मतको प्रयासमा धक्का लाग्ने भएको छ । महाधिवेशनले १५ पदाधिकारीसहित २२५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ।
असोज १५–१७ मा भएको प्रथम विधान महाधिवेशनले विधानलाई संशोधन गरेको हो। जसअनुसार अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव १, सचिव ७ जना रहनेछन्। तर, एमालेले पार्टी विभाजनपछि एकताको सन्देश प्रवाह गर्नको लागि सर्वसम्मतको प्रयास गर्ने खोजेको छ ।
पत्रकार सम्मलनमा डा. रावलले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा पार्टी केन्द्रीय कार्यालयबाटै गर्ने तयारी भए पनि महाधिवेशनको तयारीका लागि पार्टीका कक्षहरु खाली नभएकाले रिपोटर्स क्लबबाट गर्नुपरेको बताउनुभयो ।
अध्यक्षको उम्मेदवारी घोषणा गर्नुअघि उपाध्यक्ष रावलले पार्टी एकतापछि नेतृत्वको तानातान र शक्ति खिंचातानीले गर्दा पार्टी तहसनहस भएको आरोप लाउँदै पार्टी एकाता बचाउन गरिएको सहमतिहरु लत्याइएको तीतो यथार्थ पनि स्मरण गराउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्