जन सरोकार

पाँचहजार मिटर अग्लो लेक छिचोलेर चामल माग्न सदरमुकाममा

प्रशासन र खाद्य कम्पनी भन्छ- लिमीबासीका लागि जिल्लाबाट केही गर्न सकिंदैन

चरम खाद्यान्न अभाव हुने हुम्लाको हिमालपारीको बस्ती लिमी गाउँका बासिन्दा चामल माग्न पाँच हजार मिटर अग्लो न्यालु लेक नाघेर सदरमुकाम सिमकोट आइपुगेका छन् ।

खाद्यान्नका लागि चीनको ताक्लाकोटमा निर्भर रहेका लिमीबासीहरुलाई त्यहाँबाट दुई वर्षदेखि खाद्यान्न तथा अन्य उपभोग्य वस्तु आयात बन्द भएपछि ठूलो संकट भैरहेको छ ।

पेटको आगो मेटाउनकै लागि नाराको लेकमा तीन फिटसम्म जमेको हिउँ छिचोल्दै, हिउँमाथि नै बास बस्दै चार दिनको कठिन बाटो हिँडेर १७ जनाको समूह सिमकोट आइपुगेको हो ।

चामल माग्न सदरमुकाम आउनुभएका जाङका नुर्ब तामाङले भन्नुभयो, “कोरोनाको कारण देखाउँदै दुई वर्षदेखि छिमेकी मित्रराष्ट्र चीनको ताक्लाकोटबाट खाद्यवस्तु आयात बन्द छ । हामी भोकले मर्ने भयौँ । सरकार गुहार्न सिमकोट आएका हौँ ।”

एक वर्षदेखि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको खाद्यान्नसमेत पुग्न सकेको छैन । स्थानीय उत्पादनसमेत कम भएपछि लिमीवासीले चरम खाद्य सङ्कट बेहोरिरहेका छन् । व्यापार कम्पनीले ढुवानी गर्ने खाद्यान्न लिमीमा विरलै पुग्ने गथ्र्यो ।

लिमीका तीनगाउँ तिल, हल्जी र जाङका बासिन्दाका लागि छदेखि आठ महिना पुग्ने खाद्यान्न यसअघि ताक्लाकोटबाट व्यवस्था हुने गथ्र्यो । यसले गर्दा व्यापार कम्पनीको खाद्यान्नमा स्थानीयवासीको ध्यान जाँदैनथ्यो । ताक्लाकोटबाट आयात हुने खाद्यान्न बन्द भएपछि स्थानीयवासी यतिबेला खाद्यान्न अभावले छटपटिएका छन् ।

गत वर्ष कात्तिकमा चार सय क्विन्टल खाद्यान्न कम्पनीको सिमकोट शाखाबाट लगिएको थियो । त्यसको ढुवानी गाउँपालिकाले दिएको थियो । स्थानीय तामाङका अनुसार त्यसयता खाद्यान्न नपुगेका कारण गाउँमा खाद्य सङ्कट भएको हो ।

खाद्य सङ्कट बेहोरिरहेका लिमीवासीले स्थानीय प्रशासन, कम्पनीको कार्यालय, जनप्रतिनिधि र राजनीति दलका नेतासँग भेटेर खाद्य समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेका छन् । यसअघि भदौमा समेत स्थानीयवासीले खाद्यान्न सङ्कटबारे सरोकार पक्षको ध्यानाकर्षण गराएका थिए । लिमीमा १४७ घरधुरी छन् ।

लिमीवासीको खाद्यान्न सङ्कटका विषयमा प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जिल्लाबाट केही गर्न नसकिने बताउनुभयो । हिमपातले बाटोसमेत राम्रो नखुलेका कारण हेलिकप्टरबाट खाद्यान्न लैजानुपर्ने बताउँदै उहाँले हिमपातका कारण जिल्लाभरि समयमा खाद्यान्न ढुवानी हुन नसकेकाले अन्यत्र पनि खाद्यान्न सङ्कट आउनसक्ने बताउनुभयो ।

कम्पनीका हुम्ला शाखा प्रमुख कृष्णप्रसाद अधिकारीले गोदाममा न्यून खाद्यान्न भएका कारण जिल्लाबाट कुनै व्यवस्था गर्न नसकिने बताउनुभयो । यसै आर्थिक वर्षबाट लिमीका लागि बिक्री केन्द्रको स्वीकृत भएर पाँच सय क्विन्टल खाद्यान्न कोटाको व्यवस्था भए पनि त्योसमेत ढुवानी हुन सकेको प्रमुख अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button