विदेशबाट आउनेले १४ दिन क्वारेन्टिनमा बस्नैपर्ने : वडावडामा निगरानी समूह बन्दै
विदेशबाट नेपाल आउनेको पिसीआर रिपोर्ट नेगेटिभ भए मात्र पुग्ने गरेकोमा अब भने सरकारले विदेशबाट आउने व्यक्तिले अनिवार्य १४ दिन होम क्वारेन्टिनमा बस्नुपर्ने नीति पुनः कार्यान्वयन गर्न लागेको छ । यसअघि यस नीति भए पनि पछिल्लो समय कार्यान्वयनमा नआएको र विदेशबाट आएकाहरु निस्फिक्री शहर बजारमा डुलेको पाइएपछि यसलाई कडाई गर्न लागिएको हो ।
अब त्यसरी होम क्वारेन्टिनमा बस्नेहरुको अनुगमन समेत गरिने छ र यसका लागि टोलटोलमा अनुगमन टोली नै गठन भैरहेको छ । उक्त टोलीमा टोलका सक्रिय व्यक्ति, जनप्रतिनिधि र स्वास्थ्यकर्मी समेत हुनेछन् । त्यही टोलीले होम क्वारेन्टिनमा बसिरहेका विदेशबाट आएका व्यक्तिको प्रत्यक्ष निगरानी राख्नेछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हवाईमार्ग वा स्थलमार्ग भएर विदेशबाट आउने सबैले अनिवार्य १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने जानकारी दिनुभएको छ ।
त्यस्तै मन्त्रालयका कोभिड फोकल पर्सन डा. महेन्द्रप्रसाद श्रेष्ठका अनुसार विदेशबाट आउने व्यक्तिलाई होम क्वारेन्टिनमा राख्नलाई अहिले टोलटोलमा निगरानी समूह गठन गर्ने काम भइरहेको जानकारी दिनुभएको छ । उक्त निगरानी समूह देशव्यापी रूपमै गठन गरिने पनि उहाँले बताउनुभयो ।
अहिले काठमाडौं उपत्यकाको स्थानीय तहहरूले निगरानी समूह गठन गर्ने काम गरिरहेको भन्दै उहाँले यस्ता समूह सबै स्थानीय तहहरूमा गठन गरिने जानकारी दिंदै श्रेष्ठले उपत्यकाको १८ वटै पालिकाहरूमा छलफल भइसकेको र कतिले समूह गठन गरिसकेका र कतिले गर्दै रहेको जानकारी दिनुभएको छ ।
विदेबाट फर्केकाहरुको होम क्वारेन्टिनमा बसे नबसेको निगरानी समूह गठन गर्नकै लागि मन्त्रालयले स्थानीय तहका प्रमुख र वडाध्यक्षसँग छलफल गरी निर्देशिका पनि दिएको र स्थानीय तहले सोही अनुसार काम गर्ने डा. श्रेष्ठले बताउनुभएको छ ।
डा. श्रेष्ठका अनुसार अब विदेशबाट आउने जो कोही पनि कम्तिमा दुई साता घरमै बस्नुपर्ने हुन्छ। सो अवधि पूरा नभई कोही पनि बाहिर निस्कन वा डुल्न पाउने छैनन् । सरकारले विदेशबाट आउने व्यक्तिलाई पिसिआर परीक्षणको नेगेटिभ रिपोर्ट अनिवार्य गरे पनि थप संक्रमण जोखिमलाई मध्यनजर गर्दै होम क्वारेन्टिनको नीति लिएको हो ।
होम क्वारेन्टिन बसाइको क्रममा लक्षण देखिए त्यस्ता व्यक्तिको पिसिआर परीक्षण गरिने छ भने लक्षण नदेखिए पनि ती व्यक्तिहरूको एन्टिजेन विधिबाट परीक्षण गरिने छ । त्यसरी पुनः परीक्षण गर्दा संक्रमण पुष्टि भए आवश्यकता अनुसार अस्पताल पुर्याउने काम पनि उक्त समूहले नै गर्ने भनिएको छ ।
प्रतिक्रिया राख्नुहोस्