बालबालिकाका लागि एक करोड डोज खोप ‘बुक’
स्वास्थ्यमन्त्री विरोध खतिवडाले १८ वर्षमुनिका बालबालिकाको लागि एक करोड डोज खोप ‘बुक’ भइसकेको जानकारी दिनुभएको छ । मंगलबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलसंगको छलफलमा उहाँले सो जानकारी दिनुभएको हो ।

छलफलमा शिक्षामन्त्री पौडेलले भौतिक उपस्थितिमा विद्यालय सञ्चालन भएपछि १२ वर्षमाथिका सबै विद्यार्थीलाई तत्काल खोपको व्यवस्था गर्न आग्रह गर्नुभएको छ । शिक्षामन्त्रीले बालबालिकालाई विद्यालयमै पुगेर कोरोनाविरुद्धको खोप लगाउनुपर्नेमा जोड दिनुभएको थियो ।
स्वास्थ्यमन्त्री खतिवडाले १८ वर्षमुनिका बालबालिकाको लागि एक करोड डोज खोप ‘बुक’ भइसकेको जानकारी दिनुभयो । मन्त्री खतिवडाले तीन करोड, २० लाख डोज खोप पाइपलाइनमा रहेको जानकारी दिनुभयो । बाह्र वर्षभन्दा मुनिका बालबालिकालाई डब्लुएचओले कोरोनाविरुद्धको खोप लगाउन स्वीकृति दिएको छैन ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार कक्षा १२ सम्मका ६७ लाख ५१ हजार ४४९ विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउनुपर्नेछ । जसमा पाँचदेखि नौ वर्ष उमेर समूहका ३१ लाख नौ हजार १७५ रहेका छन् ।
नौदेखि माथि उमेर समूहका ३६ लाख ४२ हजार २७४ रहेको मानव स्रोत विकास केन्द्रका महानिर्देशक चूडामणि पौडेलले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्