जन सरोकार

नरदेवीमा गहना कारखानामा चोरी, पेस्तोलसहित छजना पक्राउ

काठमाडौं महानगरपालिका–१८ नरदेवीस्थित सुनका गहना बनाउने कारखानामा चोरी भएको छ । चोरीको आरोपमा प्रहरीले पेस्तोलसहित ६ जनालाई पक्राउ गरेको छ ।

प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार घटनामा संलग्न रहेको अभियोगमा धादिङ खनियाबास गाउँपालिका–४ घर भई हाल काठमाडौं नागार्जुन नगरपालिका–२ गैरीगाउँ बस्ने ३८ वर्षीय मनिला तामाङसहित ६ जनालाई पक्राउ गरिएको छ ।

भारत घर भएका ३२ वर्षीय सेख मुस्तफा अली र ४५ वर्षीय गौतम माझीले सञ्चालन गरेको उक्त कारखानाबाट गत कात्तिक २९ गते राति सुनका गरगहना चोरी भएको थियो ।

उक्त घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

साथै मनिला तामाङको डेरा कोठा तलासी गर्दा घटनामा प्रयोग भएको प्रदेश ३–०२–००१प ६२१७ नम्बरको मोटरसाइकल, घटनामा प्रयोग भएको पेस्तोल एक थान, सोही पेस्तोलमा लाग्ने गोली ४ राउण्डसहितको म्याग्जिन, जर्सी प्रहरीले बरामद गरेको छ ।

यसै गरी प्रहरी पोशाक एक जोर, नियन्त्रित लागूऔषध फेनारगन १९७ एम्पुल, डाइजेपाम १९७ एम्पुल र नुफिन १९७ एम्पुलसमेत फेला पारी प्रहरीले बरामद गरेको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.