डोटीकै सबैभन्दा पुरानो सडकलाई लाग्यो कोरोना- निर्माण सुस्त, समयमै सम्पन्न नहुने
डोटी जिल्लाकै मेरुदण्डका रूपमा मानिएको र सबभन्दा पुरानो कच्ची सडक सहजपुर–बोगटान सडकलाई पक्की बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले विसं २०७५ फागुन ७ गते कालोपत्रको शिलान्यास गर्नुभएको थियो । ३० महिनाभित्रमै कालोपत्र गरिने लक्ष्यका साथ गरिएको सडकको निर्माणले सुरुमा गति लिए पनि अहिले मन्द छ । अहिले कोरोनाले गर्दा काम सुस्त भएको छ, समयमै काम सम्पन्न हुने छाँटकाट छैन ।
कोभिड—१९ को सङ्क्रमणका कारण उक्त सडकको काम सुस्त गतिमा हुँदै आएको छ । निर्माणले सुस्त गति लिएसँगै अब उक्त सडक तोकिएकै समयमा सम्पन्न हुनेमा आशङ्का पैदा भएको छ ।
कोरोनाकै कारण कैलालीको सहजपुरदेखि डोटीको बडिकेदार गाउँपालिकासम्म जोड्ने उक्त सहजपुर–बोगटान सडक कालोपत्रको कार्यमा समेत ढिलाइ हुँदै आएको छ । उक्त सडक कालोपत्रको ठेक्का पाएको निर्माण कम्पनी पिआरएल–कुमार जेभीका आयोजना सम्पर्क प्रबन्धक ईश्वर बस्नेतका अनुसार सडक डबल कटिङ र पक्की नालीको निर्माण अघि बढी नालीको काम सकिए पनि कोरोना भाइरसका कारण निर्माण सामग्री नपाउँदा तथा घर गएका अधिकांश श्रमिक समयमै काममा नफर्किएका कारण निर्माणमा ढिलाइ हुँदै आएको हो ।
तीन दशकदेखि अलपत्र सडक पछिल्लो समय सरकारको उच्च प्राथमिकतामा रहे पनि कोरोना सङ्क्रमणका कारण काममा ढिलाइ हुँदा उक्त सडक पुनः अलपत्र जस्तै अवस्थामा परेको स्थानीयवासी बताउँछन् ।
भारत सरकारको एक्जिम बैंकको ऋण प्रक्रियाबाट नेपाल सरकारले रु दुई अर्ब पाँच करोडमा सहजपुर बजारबाट बडिकेदार गाउँपालिकासम्म ५० किलोमिटर सडक कालोपत्रको जिम्मा कुमार श्रेष्ठ निर्माण सेवालाई दिएको थियो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट विजयी सङ्घीय सांसद प्रेमबहादुर आलेमगरको प्रत्यक्ष पहलमा उक्त सडक कालोपत्र हुन थालेको थियो । कैलालीको चुरे गाउँपालिकाभित्र पर्ने १८ किमी र डोटीको बिपीनगरबाट बडिकेदार गाउँपालिकासम्म २८ किमी सडक कालोपत्रको काम धमाधम शुरु गरिए पनि गएको करीब तीन महिनादेखि कालोपत्रको काम रोकिएको र अन्य काम सुस्तगतिमा भइरहेको बडिकेदार –१ बिपीनगरका गणेशबहादुर बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “तीन महिनादेखि पिचको काम रोकिएको छ, अन्य निर्माणसुस्तगतिमा चलेको छ, कोरोनाले जिल्लाका ठूला योजनाका काम लथालिङ्ग बनायो ।”
जिल्लाको सबैभन्दा पुरानो उक्त कच्ची सडक शिलान्यास भएको ३३ वर्षपछि विसं २०७५ मा मात्र कालोपत्र हुन थालेको भए पनि कोरोना सङ्क्रमणले काम सुस्त भएपछि समस्या उत्पन्न भएको कैलाली, शिवनगरका दानबहादुर विष्टले जानकारी दिनुभयो । सहजपुरबाट बडिकेदार गाउँपालिका हुँदै बोगटान फुड्सिल गाउँपालिकाको सिमचौर भएर दिपायल जोड्ने उक्त सडकको विसं २०४२ मा पहिलोपटक शिलान्यास भएको थियो ।
बोगटान सडक निर्माणपछि स्थानीय कृषि उत्पादनले मूल्य पाउने आशा किसानले गरिरहेका थिए । जिल्लाको बोगटान क्षेत्र कृषि उत्पादनका लागि उर्वर क्षेत्र मानिन्छ । स्थानीय बासिन्दामा वर्र्षौँपछि कालोपत्र हुने आशा पलाएको उक्त सडकमा पुनः कोरोनाका कारण खेर जाने त होइन भन्ने चिन्ता थपिएको छ । सो क्षेत्रका बासिन्दा कालोपत्र नहुँदा कच्ची सडकमा अहिले पनि खचाखच भरिएर बसमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।
प्रतिक्रिया राख्नुहोस्