अर्थ

पूँजीगत खर्च बढाउन नयाँ प्रणाली आवश्यक

सरकारले विकास निर्माणका काममा छुट्याएको रकम खर्च गर्न नसक्दा बजारमा तरलता अभाव भएको छ भने विकास निर्माणका काम पनि प्रभावित भएका छन् ।

यस्तोमा अर्थमन्त्री जनार्दन शर्माले पूँजीगत खर्च विद्यमान प्रणालीबाट उल्लेख्यरूपमा वृद्धि नभए नयाँ प्रणाली अपनाउनुपर्ने बताउनुभएको छ ।

अर्थ मन्त्रालयमा बसेको आर्थिक वर्ष २०७८/०७९ को प्रथम प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा पूँजीगत खर्च उल्लेख्यरूपमा नबढेकोप्रति असन्तुष्टि जनाउँदै उहाँले विद्यमान प्रणालीमा अर्को एक महिनासमेत खर्च नबढे नयाँ विकल्प अवलम्बन गर्नुपर्ने बताउनुभएको हो ।

“यदि पूँजीगत खर्च यो तरिकाले हुन्न भने म अर्को तरिका सोच्दैछु”, उहाँले भन्नुभयो, “अरू एक महिनासमेत पर्खेर हुँदैन भने नयाँ तरिकाबाट खर्च गर्नुपर्छ भन्ने मान्यता छ । खर्च चाहिँ जसरी पनि गर्नुपर्छ ।” उहाँले नयाँ प्रणालीबारे सबै मन्त्रालयलाई अवगत गराएर अवलम्बन गर्नुपर्ने बताउनुभयो ।

मन्त्री शर्माले आयात घटाउने आधार हुँदाहुँदै पनि नघटेकोप्रति समेत असन्तुष्टि जनाउनुभयो । आयात नघट्दा व्यापार सन्तुलन तथा विदेशी मुद्रा सञ्चितिमा दबाब परेको भन्दै उहाँले अब पनि आयात नघटे बलपूर्वक घटाउनुपर्ने अवस्था आउन सक्ने बताउनुभयो ।

मन्त्री शर्माले लघुवित्तको ब्याज घटाएर एकल डिजिटलमा झार्दै साना किसान तथा लगानीकर्तालाई ऋण उपलब्ध गराउनुपर्ने, कृषि विकास बैंकको नाम परिवर्तन गर्नुपर्ने तथा डिजिटल कारोबारलाई व्यापक गर्नुपर्नेसमेत बताउनुभयो ।

बैठकमा अर्थसचिव मधुकुमार मरासिनीले तरलताको चापलाई घटाउन सुन आयातमा निगरानी गर्नुपर्ने बताउनुभयो । उहाँले हुण्डीमार्फत नेपाल पैसा पठाउँदा विदेशी मुद्रा उतै रहने र त्यसले सुन कारोबार भइरहेको बताउनुभयो । त्यसले विप्रेषणमा समेत नकारात्मक असर गरेको उहाँको भनाइ छ ।

उहाँले बाहिर बजारमा बजेट र अर्थतन्त्रबारे गलत प्रचार भइरहेकोप्रति संवेदनशील हुन आग्रह गर्दै पूँजीगत खर्च बढाउनमा ध्यान दिन सम्बन्धित मन्त्रालयलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.