राजनीति

अध्यक्षमा लिङ्देन र महामन्त्रीमा राणाको उम्मेदवारी घोषणा

राप्रपा नेतृत्वका लागि पशुपति, प्रकाशचन्द र कमल थापालाई लिङ्देन-राणाको चुनौति

यही मंसिर १५ देखि १७ गतेसम्म काठमाडौंमा हुने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षपदमा सो पार्टीका नेता राजेन्द्र लिङ्देनले पार्टी उम्मेदवारी घोषणा गर्नुभएको छ । यसै गरी महामन्त्रीमा धवलशम्शेर राणाले उम्मेदवारी घोषणा गर्नुभएको छ ।

पार्टी स्थापनाकालदेखि नै नेतृत्व तहमा रहँदै आएका शीर्ष नेताहरूले आसन्न महाधिवेशनमा पनि अरूलाई अवसर नदिने संकेत गरेपछि लिङ्देन र राणाको समूह अघि सरेको हो ।

काठमाडौंमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा लिङ्देनले आफू पार्टीको अध्यक्ष बने देशमा कांग्रेस–कम्युनिष्टले गर्न नसकेको काम गर्ने दावी समेत गर्नुभयो ।

उहाँले अध्यक्षत्रय कमल थापा, पशुपति शम्सेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले पार्टीलाई बन्धक बनाएर राखेको भन्दै अब पार्टीको परम्परागत गुट अन्त्य गर्ने पनि बताउनुभयो ।

 राप्रपाको आगामी महाधिवेशनमा पार्टी नेतृत्वलाई चुनौती दिने गरी नेताद्वय लिङ्देन राणाले अध्यक्ष र महामन्त्रीमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।

कार्यक्रममा नेता धवलशम्शेरले पार्टीमा नयाँ अनुहार दिन नसके पार्टी सिद्धिने चेतावनी दिंदै आफूहरूले पार्टीमा नयाँ सुरुवात गर्न लागेको बताउनुभयो ।

लिङ्देन संघीय संसदमा राप्रपाका एकमात्र सांसद हुनुहुन्छ । विचार, दृष्टिकोण र स्पष्ट वक्ताका रुपमा परिचित्र लिङ्देन राप्रपाभित्र मात्र होइन अन्य दलका कार्यकर्ताहरुबीच पनि लोकप्रिय हुनुहुन्छ । मेयर राणा बाँकेमा निकै लोकप्रिय हुनुहुन्छ । उहाँ विकासप्रेमी नेताका रुपमा परिचित हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button