राजनीति

“हिजो मेरो खुट्टा तान्नेहरु आज प्रधानमन्त्रीजीको खुट्टा समाइरहेका छन्” : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी ओलीले आगामी तीनवटै तहको निर्वाचनमा नेकपा एमालेले एक्लैले बहुमत ल्याउने र समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार पार्ने बताउनुभयो ।

अध्यक्ष ओलीले कार्यकर्ताहरूलाई चुनावमा केन्द्रित हुन आग्रह गर्दै आफ्नो नेतृत्वको सरकारले देश विकासको खाका कोरेको तर आफूलाई खुट्टा तानिएको बताउँदै अब एकल सरकार बनाएर समृद्धिको सपना पूरा गर्ने बताउनुभयो ।

मञ्चमा प्रमुख अतिथिका रुपमा आशिन प्रधानमन्त्री शेरबहादुर देउवातर्फ लक्षित गर्दै उहाँले प्रधानमन्त्रीलाई अतिथि बनाएर सरकारको आलोचना गर्नु वाञ्छनीय हुँदैन तर प्रधानमन्त्रीले काम गर्न चाहनुभए पनि गर्न नसकेको हुनसक्ने बताउँदै विगतमा आफ्नो खुट्टा तान्नेहरु अहिले प्रधानमन्त्रीको खुट्टा समाइरहेकाले समस्या परेको हुनसक्ने बताउनुभयो ।

एमालेको १० औं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री ओलीले नयाँ नक्सामा समेटिएको लिम्पियाधुरा, लिपुलेक र कालापानीको जमिन संवादका माध्यमबाट फिर्ता लिनुपर्ने पनि बताउनुभयो । जबसम्म भूमि फिर्ता आउँदैन तबसम्म हामी हेपिएको महसुस भैरहने पनि बताउनुभयो ।

उहाँले भन्नुभयो ‘लिम्पियाधुरा लिपुलेक र कालापानीको हाम्रो भूगोल हामी नेपालको नक्सामा समेटेका छौँ । त्यसलाई संविधानको अंग बनाएका छौँ । तर, त्यो जमिन हामीले फिर्ता लिनुपर्नेछ । हामी छिमेकीसँग संवादको माध्यमबाट त्यो जमिन फिर्ता लिनेछौँ । फिर्ता नलिएसम्म हामीलाई दबिएको, हेपिएको भन्ने अनुभूति भइरहन्छ ।’

सम्बोधनका क्रममा ओलीले एमालेले कसैलाई पनि शत्रु र मित्रुका रुपमा नलिएर आपसी समझदारी र सहकार्यबाट अघि बढ्न चाहेको बताउँदै भन्नुभयो पारस्परिक हित, पारस्परिक सम्बन्धका आधारमा हाम्रो विदेश सम्बन्ध अघि बढ्छ । छैन कसैसँग शत्रुता, सबैसँग मित्रता भन्ने हाम्रो मूल नीति हो । हामी त्यस नीतिलाई अवलम्बन गर्छौ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.