राजनीति

श्री ५ महाराजाधिराज लेखिएपछि आइपर्यो आपत

मंसिर ९ गते शनिबार दिउँसो बिर्तामोड –१ स्थित इकम कलेजमा स्थापना गरिएको पृथ्वीनारायण शाहको शालिकको अनावरण र कलेज उद्घाटन शिलामा श्री ५ महाराजाधिराज लेखिएपछि सो कलेजलाई आपत्ति आइलागेको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा उद्घाटन गरिएको पृथ्वीनारायण शाहको सालिकमा श्री ५ लेखेर अनावरण गरिएपछि कलेजलाई नै कारबाही गर्ने प्रक्रिया अघि बढेपछि कलेजले हटाउन लगाएको छ ।

कलेजले बहालवाला राजासरह पूर्वराजा ज्ञानेन्द्र शाहबाट सालिक अनावरण गर्न लगाउँदै देशमा राजतन्त्र भए जसरी ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीरविक्रम शाहको करकमलबाट बिर्तामोड नगरपालिका–१ झापामा रहेको इकम कलेजको प्राङ्गणमा स्थापित राष्ट्र निर्माता श्री ५ पृथ्वीनारायण शाहको सालिक अनावरण’ गरिएको थियो ।

इकम कलेजले संविधानको ठाडो उल्लङ्घन गरेकाले दर्ता खारेजी प्रक्रिया अगाडि बढाइने बिर्तामोड–१ का वडाध्यक्ष अग्निप्रसाद पाण्डेले बताउनुभयो ।

उहाँले इकम कलेजसँग पत्र पठाएर स्पष्टीकरण सोधिने र दर्ता खारेजीका लागि बिर्तामोड नगरपालिकाको शिक्षा शाखालाई अनुरोध गरिने बताउनुभयो । चौतर्फी विरोधपछि इकम कलेजको प्राङ्गणबाट ‘श्री ५’ लेखिएको शिलालेख हटाएको थियो ।

कलेजका सञ्चालकले आफूहरुबाट त्रुटि भएको स्वीकार गरिसकेका छन् । सालिक अनावरण गर्ने क्रममा राखिएको शिलालेखको भाषामा त्रुटि भएको महसुस भएपछि त्यसलाई हटाइएको कलेजका संस्थापक अध्यक्ष एवम् सीइओ आलोक कार्कीले बताउनुभयो ।

अर्को शिलालेखमा ‘श्री ५’ को सट्टा पूर्व राजा भनेर लेखिने उहाँले जानकारी दिनुभयो । सो कलेजले गत शनिबार पूर्वराजा ज्ञानेन्द्रबाट सालिक अनावरण गराएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.