यसरी बन्नुभयो चैतामाया नेपालको पहिलो महिला प्रहरी
नेपालको पहिलो महिला प्रहरी चैतमायालाई नेपाल प्रहरीले गत असोज २० गते ६६औँ प्रहरी दिवसका अवसरमा पहिलो महिला प्रहरीका रुपमा ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गर्यो । उहाँले मुलुककै कार्यकारी प्रमुख प्रधानमन्त्री शेरबहादुर देउवाका हातबाट सम्मान लिनुभयो । उहाँ बसेकै ठाउँमा पुगेर गृहमन्त्री बालकृष्ण खाणले दीर्घायुको कामना गर्दै विगतमा शान्तिसुरक्षा कायम गर्न गरेको योगदानको प्रशंसा गर्नु भुल्नुभएन ।

देशका उच्च व्यक्तिले आफू बसेकै ठाउँमा भेट्न आउँदा चैतमायाले त्यतिबेला हर्षित मात्रै हुनुभएन, प्रहरी भएकामा गर्व पनि गर्नुभयो । त्यसो त उहाँले गोरखा दक्षिणबाहु चौथो, प्रहरी सेवा पदकलगायत पनि प्राप्त गरिसक्नुभएको छ ।
उहाँको प्रहरी बनेको प्रसंग पनि रोचक छ । विसं २००८ को कुरा हो । काठमाडौँ, चाबहिलका कान्छा डङ्गोल र तरिमायाकी जेठी छोरी चैतमायालाई सरकारी भर्तीका लागि थुतेर लगियोे । विसं २००७ पछि प्रजातन्त्रको परिवेश र उमङ्गका बेला उहाँसहितका महिलालाई एक टोलीले एक्कासि लिएर सिंहदरबारमा तालिम दिन शुरु गरेको थियो ।
त्यो टोली अरू कोही नभएर नेपाली कांग्रेससँग आबद्ध थिए । त्यस बेला महिलाको टोली चारूमती बहालमा महिला सशक्तीकरणको छलफलमा सरिक थिए । त्यहाँबाट नै चैतमाया लगायतलाई सामूहिक रुपमा लगिएको थियो । प्रजातन्त्र पुनःस्थापना हुनुअघि नेपाली काँग्रेसको मुक्ति सेनाले आन्दोलन गरिरहेको थियो । भर्खर प्रजातन्त्र प्रवेश गरेकाले सुरक्षा संरचना भर्खरभर्खर बामेसर्दै थियो ।
उतिबेलाको समय नै उस्तै । महिला केवल चुलोचौकामा सीमित रहनुपर्ने नेपाली समाजको पुरानो चलन । सामान्य लेखपढ गरेर घरबाहिर जागिर गर्ने महिलाले निकै सङ्घर्ष र हिम्मत जुटाउनुपर्ने अवस्था थियो । त्यसमाथि सेना, प्रहरी जस्तो सुरक्षा अङ्गमा काम गर्ने सोच प्रायः महिलाको सपनामा पनि आउँदैन थियो । जब महिला आन्दोलनले विश्व तातिँदै गयो, तब त्यसको राप नेपाली समाजमा प¥यो ।
विस्तारै महिलाको उपस्थितिको रेखा कोरिन थाल्योे । कतिपय अवस्थामा अन्तरराष्ट्रिय सन्धिसम्झौताको पक्ष राष्ट्रको हैसियतले पनि नेपाल सरकारका विभिन्न अङ्गमा महिला सहभागिता सुनिश्चित गर्नुपर्ने बाध्यता आइलाग्यो । विशेषगरी राणाशासनको अन्त्यसँगै मौलाएको प्रजातान्त्रिक व्यवस्थाले महिलाका लागि अवसर र चुनौतीका चाङ लगाइदियो । चैतमाया त्यस्तै अवसर र चुनौतीका चेपुवामा पर्नुभएको थियो ।
झण्डै चार महिना जति चैतमायासहितको महिला टोलीलार्ई प्रहरीसँग सम्बद्ध विभिन्न तालिम दिने र खेल खेलाउने गरियो । त्यस बेलाका प्रहरी हाकिम नरशम्शेर जबरा आफैँ आएर तालिमेलाई सिकाउनुहुन्थ्यो । राणा नेपालका दोस्रो प्रहरी महानिरीक्षक हुनुहुन्थ्यो । उहाँले राणाले प्रहरी प्रमुख हो भन्ने कुरा पछि मात्रै थाहा पाएको सुनाउनुभयो । तालिम सकिने बेलासम्म पनि उहाँसहितका महिलालाई केका लागि तालिम लिइँदैछ भन्ने भेउसम्म थिएन । चैतमायाका अनुसार सबै महिला मिर्मिरे बिहान टुँडिखेलको फराकिलो चौरमा सिक्ने, खेल्ने गर्थे । त्यसबेला भाग्न नपाउने गरी बन्दोबस्ती मिलाइएको थियो । प्रहरीमा भर्ना भएको भन्ने कुराको कसैले सुइँकोसमेत पाएन ।
उहाँ कल्पनामै नभएको प्रहरी पेशामा अनायासै तानिनुभयो । खेलकुद गरेको चार महिनापछि बल्ल मात्रै प्रहरी भएको थाहा भयो । त्यो चाल पाएपछि चैतमायासहितका सबैले प्रहरीको जागिर नखाने अड्डी लिए । लिऊन् पनि कसरी ? कडा मेहनत, चनाखो जीवनशैली र उछलकुदको प्रहरी पेसा महिलाका लागि सहज लाग्ने कुरै भएन । त्यसमाथि घरपरिवारको सहयोग र समर्थन पनि उतिबेला थिएन । महिला प्रहरी हुनु झनै चुनौती थियो तर उहाँहरूको जागिर नखाने पुकारा कसैले सुनेनन् । बरु प्रहरी अधिकारीबाट धम्कीको सामना गर्नुप¥यो । “हामीले जागिर खान्नौँ भन्दा कि तालिमको पैसा तिर्, नत्र जेल जानुपर्छ भने”, अठासी वर्षीया चैतमायाले प्रहरी प्रमुखले भनेको कुरा सुनाउँदै भन्नुभयो, “अनि पुलिसमा जागिर नखाएर भो ?”
त्यसपछि उहाँको प्रहरी जीवन सुरु भयो । प्रहरीमा भर्ना भएकामा श्रीमान् केदार राजवंशीलाई पनि चित्त बुझेको थिएन तर सरकारको नुन खाइसकेपछि उहाँले पनि ‘हुन्न’ भन्न सक्नुभएन । “प्रहरीमा जागिर खाएका निहुँमा सात दिनमै श्रीमान्सँग विवाद भए पनि पछि विस्तारै उहाँले स्वीकार गर्नुभयो”, चैतमायाले बताउनुभयो । घरपरिवारको जिम्मेवारी श्रीमान् र परिवारलाई सुम्पिँदै उहाँले जागिरे जीवनको यात्रा सुरु गर्नुभयो । शुरुमा उहाँको दरबन्दी ट्राफिकमा भए पनि जहाँ खटायो, त्यहीँ जानुपर्ने बाध्यता थियो । त्यतिबेला अपराधका रूपमा केही मारपिट, चोरीका घटना हुन्थे । उहाँले ‘ड्युटी’मा खटिँदा सयौँ अभियुक्त वा आन्दोलनकारी महिला, पुरुषलाई पक्राउ गर्नुभएको थियो । विसं २०१४ को सत्याग्रहमा उहाँ झन् धेरै खटिनुभयो ।
उहाँले प्रहरी पेसामा नुनको सोझो मात्र गर्नु भएन, देशको रातो झण्डामुनि नेपाली महिलाकै शिर गर्वले ठाडो बनाउनुभयो, देश सेवामा जीवन सुम्पेर आधा आकाशको सान बढाउनुभयो, अनि पहिलो महिला प्रहरी बनेर ‘सत्य सेवा सुरक्षणम्’ को प्रहरी नारालाई महिला वर्गले पनि उँचो राख्न सक्छ भन्ने चरितार्थ गर्नुभयो । उहाँलाई अहिले हिँडडुलमा अर्काको सहारा चाहिने बेला भइसकेको छ । प्रहरी सहायक निरीक्षकबाट २०३९ सालमा सेवानिवृत्त चैतमायाले प्रहरी हुनुमा गर्व गर्दै भन्नुभयो, “प्रजातन्त्र खुलेपछि त ओहो ! कुरा गरिसाध्य छैन, त्यस्तो खुसीको क्षण थियो, त्यही बेला हामीलाई लग्यो ।”
त्यस समयमा प्रहरीमा मात्रै होइन, जागिर खाने महिला नै थिएनन् भन्नुहुन्छ चैतमाया । “प्रहरीमा जागिर खाने हाम्रो इच्छा थिएन, पुलिसमा जाने भनेर लगिएको पनि होइन, काँग्रेसका नेताले त्यसै सिंहदरबार लगेका थिए, चार महिनापछि पो प्रहरी भयौँ भने, आफू त छक्कै परेको” उहाँले सुनाउनुभयो । त्यस बेला महिलाको २५ जनाको दरबन्दी थियो । त्यसमा पहिलो नाम ‘चैतमाया डङ्गोल’, वैशाख १ दर्ता भयो । “भर्ना हुँदा भाइहरू (प्रहरी जवान) तीन मोहर खान्थे किस्ता, हवल्दारको दुई रुपैयाँ थियो, महिला भाग्छन् भनेर त्यतिखेरै हामीलाई तीस रुपियाँ दिइएको हो”, उहाँले पुरानो कुरा सम्झँदै भन्नुभयो । जाडामा खाकी रङको ऊनी र गर्मीमा जिन्सको पोशाक दिइन्थ्यो ।
चैतमायाले झण्डै ३२ वर्ष प्रहरीमा सेवा गर्दा प्रहरी नायब निरीक्षक (सइ) हुने समय भएको थियो । “चिठ्ठी आउनै लाग्दा घरको समस्याले जागिर छाडेँ”, उहाँले सुनाउनुभयो । प्रहरी हुँदाका अनेक अनुभव उहाँसँग छ । “कति हेलाँ गर्थे त्यस बेला, सबै सहेर काम गर्नुपरेको थियो, सुरुसुरुमा डर पनि लाग्यो, लाज पनि हुन्थ्यो । अरुले ‘पुलिसनी’ जिस्क्याउँथे, पछिपछि हेलाँ गर्ने, जिस्क्याउनेलाई लखेट्थेँ”, उहाँले काम गर्दाका स्मृति सुनाउनुभयो । पाँच दिदीबहिनीमा उहाँसहित तीन जना प्रहरीमा लाग्नुभयो । उहाँले पछि माहिली बुद्धमाया र साहिँली श्रीमानीलाई प्रहरीमा लगाउनुभएको थियो । बुद्धमाया भने अहिले बितिसक्नुभयो ।
आफूलाई प्रहरीमा भर्ना हुँदा लाज लाग्ने गरे पनि अब त्यस्तो अवस्था नरहेको उहाँ बताउनुहुन्छ । अहिले त खुसीसाथ भर्ना हुन्छन् । “महिलामा पनि केटासरह नै काम गर्न सक्ने तागत छ”, उहाँले ठोकुवा गर्नुभयो । अहिले विभेद नभएकाले पनि काम गर्न सजिलो रहेको उहाँ बताउनुहुन्छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री आजभन्दा झण्डै ७० वर्ष पहिला महिला प्रहरी हुनु आफैँमा चुनौतीको विषय भएको मान्नुहुन्छ । “चैतमायाको जीवन कुनै तिलस्मी कथाकी नायिकाको जस्तै छ”, आइजिपी थापाले भन्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्