यही २५ गतेदेखि मेलम्चीको पानी वितरण हुने
गत असारमा आएको बाढीले क्षतिग्रस्त भएको मेलम्ची खानेपानी आयोजनाको सुरुङ मर्मत सम्पन्न गरी मङ्सिर २५ गते पछाडि काठमाडौंमा वितरण गर्ने गरी सुरुङमा पानी पठाउन थालिएको छ ।

आइतबार राति १० बजेदेखि दुई वटा ढोका बन्द गरेर पानी पठाउन सुरु गरेकाले मङ्सिर २५ गतेसम्ममा सुन्दरीजलमा पानी पुगिसक्ने र त्यसपछि वितरण गरिने कार्यकारी निर्देशक कमलराज श्रेष्ठले जानकारी दिनुभयो ।
करिब दुई साताको प्रयासमा मेलम्ची खोलाको पानी काठमाडौं पथान्तरण सुरु गरिएको थियो । २६ किमी सुरुङमा पानी भर्ने काम सम्पन्न भएपछि सोमबारदेखि काठमाडौंको सुन्दरीजलतर्फ पानी पठाउन सुरु गरिएको थियो ।
यस पटक कम्तीमा ६ महिना काठमाडौंमा मेलम्चीको पानी उपलब्ध हुने सम्भावना रहेको प्रमुख श्रेष्ठले बताउनुभयो ।
गत वर्ष स्थायी संरचना बाढीले क्षतिग्रस्त भएपछि वर्षामा पानी ल्याउन रोकेर हिउँदमा मर्मत गरेर अस्थायी रुपमा पानी ल्याउनुपर्ने अवस्था छ । २०७९ वैशाखमा पानी पुनःवितरण सुरु गरिएकामा गत असारदेखि रोकिएको थियो ।
यो वर्षको वर्षायाममा आयोजनामा कम क्षति भएकाले अघिल्लो वर्षभन्दा चाँडै पानी ल्याउन सकिएको आयोजनाले जनाएको छ ।
आयोजनाको दीर्घकालीनरुपमा मर्मत गर्न एशियाली विकास बैंकले अध्ययन गरेकामा त्यसको प्रारम्भिक प्रतिवेदन यसअघि समितिलाई दिएको थियो । त्यसको अन्तिम प्रतिवेदन डिसेम्बरसम्ममा आएपछि नै योजनाबद्धरुपमा मर्मत र सुधारको काम अघि बढाउन सकिनेछ ।
अन्तिम प्रतिवेदनका आधारमा कसरी गर्ने भनेर योजना बनाइनेछ । दुई दशक पहिले निर्माण सुरु भएको आयोजनाबाट फागुन २०७७ मा पहिलोपटक पानी काठमाडौंमा ल्याइएको थियो ।
काठमाडौं उपत्यकावासीको लामो प्रतिक्षापछि मेलम्चीको पानी ल्याएर वितरण सुरु भए पनि अझै बाह्रै महिना वितरण गर्नसक्ने अवस्था छैन ।
१ असार २०७८ मा आयोजनाको माथिल्लो भागमा बाढी र पहिरो आउँदा त्यस क्षेत्रमा नै ठूलो असर पुगेको छ । त्यहाँको भौगर्भिक अध्ययन सकिएपछि मात्रै त्यहाँको स्थायी समाधानमा लाग्न सकिने अवस्था छ ।
प्रतिक्रिया राख्नुहोस्