अध्यक्षमा ओली र रावलबीच प्रतिस्पर्धा, प्रस्तावित पदाधिकारी तथा केन्द्रीय कमिटी नामावली पेश
सहमतिमा नेतृत्व चयनको लामो प्रयास असफल भएपछि नेकपा एमालेको अध्यक्षका लागि केपी शर्मा ओली र भीम रावलबीच निर्वाचन हुने नै भएको छ ।

नेकपा एमालेको सौराहामा जारी दशौं महाधिवेशनको बन्दसत्र रोकेर दिनभर नेताहरूसँग छलफल गरेका ओलीले रावललाई उपाध्यक्ष बस्न आग्रह गर्नुभएको थियो । तर रावलले उहाँको प्रस्तावलाई अस्वीकार गर्नुभएको छ।
बन्दसत्रलाई सम्बोधन गर्दै ओलीले एकताका लागि आफूले धेरै प्रयास गरेको बताउँदै असहमति र असन्तुष्टि हुनु स्वाभाविक भए पनि बाहिर लैजान राम्रो नभएको भन्दै उहाँले भन्नुभयो, ‘मैले धेरै पटक भीम रावललाई उपाध्यक्षको उम्मेदवार बन्न आग्रह गरें, तर सम्झाउन सकिएन ।’
रावलले अडान नछाडेपछि हलमा होहल्ला भयो । रावल विरुद्ध नारा हुटिङ भयो । तर ओलीले शान्त रहन आग्रह गर्दै भने, भीम रावल उम्मेदवार हुन्छु नै भन्ने हो भने उठ्न दिनुपर्छ ।’
ओलीले सहमतिका लागि १९ पदाधिकारीको प्रस्ताव राखे र त्यसअनुसार नै उम्मेदवारी दर्ता गर्न नेताहरूलाई आग्रह गर्नुभयो ।
यसअघि आइतबार रातिको बन्दसत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तावित पदाधिकारी तथा केन्द्रीय कमिटी नामावली पेश गर्नुभयो ।
उहाँले बन्दसत्रमा १९ पदाधिकारी र ३०१ केन्द्रीय सदस्यको नाम पढेर सुनाउनुभएको थियो । पदाधिकारीमा अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल हुनुहुन्छ ।
यसैगरी उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य , सुरेन्द्र पाण्डे , रामबहादुर थापा ‘बादल’ , सुवास नेङ्वाङ र विष्णु पौडेललाई प्रस्ताव गरिएको छ । यसैगरी महासचिवमा शङ्कर पोखरेल, उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल तथा सचिवमा टोपबहादुर रायमाझी, रघुविर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्यमा अर्याललाई हुनुहुन्छ ।
प्रतिक्रिया राख्नुहोस्