वरिष्ठ उपाध्यक्षसहित पाँच पदमा निर्विरोध, अध्यक्षसहित १४ पदमा निर्वाचन
नेकपा एमालेको सम्पूर्ण पदाधिकारीको चयन सर्वसम्मत गर्ने अध्यक्ष केपी ओलीको प्रयास असफल भएपछि अध्यक्ष, उपाध्यक्ष, सचिव सहितका १४ पदमा निर्वाचन हुनेभएको छ । अध्यक्ष ओलीले चयन गरेका नामहरुबिरुद्ध उम्मेदवारी परेपछि सबै चुनावी मैदानमा होमिनुपरेको छ ।

निर्वाचन आयोगका प्रमुख विजय सुब्बाका अनुसार सोमबारबाट अध्यक्ष, उपाध्यक्ष, सचिवलगायत पदमा प्रतिस्पर्धा हुने भएको भन्दै तयारी तीव्र पारिएको बताउनुभएको छ ।
अध्यक्ष ओलीले सोमबार बिहान बन्दसत्रमा प्रस्ताव गरेको नामावलीमा नअटाएकामध्ये अध्यक्षमा भीम रावल, उपाध्यक्षमा घनश्याम भुसाल, सचिवमा भीम आचार्य र टंक कार्कीले उम्मेदवारी दिएपछि एमाले आन्तरिक प्रतिस्पर्धामा होम्मिएको हो ।
वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवसहित ओलीले प्रस्ताव गरेको पाँच जनाको नाममा थप उम्मेदवारी नपरेकाले निर्विरोध हुने लगभग सुनिश्चित भए पनि त्यसबाहेक १४ पदाधिकारीका लागि निर्वाचन हुने निश्चित देखिएको छ ।
ओलीले उपाध्यक्षमा प्रस्ताव गरेका युवराज ज्ञवाली, सुवासचन्द्र नेम्वाङ, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा ‘बादल’, विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डेको नामप्रति असहमति जनाउँदै ओलीको सूचीमा नपरेका घनश्याम भुसालले उम्मेदवारी दिएपछि ती पदमा प्रतिस्पर्धा हुने भएको हो ।
यसै गरी, सचिवमा ओलीले प्रस्ताव गरेका नामप्रति असहमति जनाउँदै भीम आचार्य र टंक कार्कीले उम्मेदवारी दिएपछि सो पदमा पनि प्रतिस्पर्धा हुने भएको हो ।
ओलीले टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छबिलाल बिक, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण बिष्ट र पदमा अर्याललाई प्रस्ताव गरे पनि सो प्रस्तावलाई आचार्य र कार्कीले चुनौती दिए पछि सचिव पदमा प्रतिस्पर्धा हुन लागेको हो ।
प्रतिक्रिया राख्नुहोस्