जन सरोकार

निर्वाचनमा पराजित भए लगत्तै आफ्नै पेशामा सक्रिय डा अधिकारी

मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट उम्मेदवार बन्नुभएका चिकित्सक भोजराज अधिकारी आफ्नो चिकित्सक पेशामा फर्कनुभएको छ ।

उम्मेदवारी मनोनयनको दुई दिनअघि नेकपा (माओवादी केन्द्र)ले लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट टिकट दिएपछि उहाँ भरतपुर अस्पताल विकास समितिको अध्यक्ष पदबाट राजीनामा दिएर उहाँ उम्मेदवार बन्नुभएको थियो ।

अस्पतालको अध्यक्ष बनेपछि त्यहाँको फिजिसियन पदबाट राजीनामा दिनुभएका अधिकारीले यसअघि पुष्पाञ्जली अस्पतालमा नियमित बिरामी जाँच गर्दै आउनुभएको थियो ।

उहाँले भन्नुभयो, “अब म नियमित काममा फर्किएको छु ।” स्वास्थ्य सेवामार्फत राजनीतिमा सक्रिय रहने उहाँको योजना छ । निर्वाचनका समयमा आफ्नो प्रतिबद्धतापत्रमा समेटिएको जनतासँग अस्पताल कार्यक्रमलाई पराजित भए पनि निरन्तरता दिने उहाँले जानकारीदिनुभयो ।

गाउँगाउँमा गएर उपचार नपाएकालाई अस्पतालसँग जोड्ने, नियमित स्वास्थ्य परीक्षण गराउने, स्वास्थ्य जनचेतना जगाउनेलगायतका कार्य गर्ने योजना डा अधिकारीको छ ।

उहाँले भन्नुभयो, “विशेषज्ञसहितको स्वास्थ्य शिविर, रोग पत्ता लागेकालाई अस्पताल जोड्ने, समाजमा दीर्घरोगीको खोजीका लागि परीक्षण गर्ने योजनामा छु ।” यसैगरी मधुमेह, उच्च रक्तचापलगायतका रोगको पहिचान अभियानका रूपमा गराउने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “क्यान्सर, मुटुरोग स्क्रिनिङ गर्ने, सरकारले निःशुल्क गरेका रोगको उपचार र औषधिका बारेमा जानकारी गराउने काम अभियानमा हुन्छ ।”

पिउने पानी, स्वच्छ वातावरण लगायतका बारेमा जनचेतना जगाउँदै धुमपान र मद्यपानविरोधी अभियान सञ्चालन गर्ने उहाँले बताउनुभयो । अपाङ्गता कार्ड नभएकालाई कार्ड बनाएर उपचारमा सहयोग गर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.