राजनीति

सम्पन्न निर्वाचनमा ‘उल्का झैं उदाएका’हरुलाई

इतिहासमा नै सबैभन्दा कम जनसहभागिता रहेको र जतिले सहभागिता जनाए उनीहरुले पनि निराशा र उदासीनतापूर्वक हेरिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९ को नतिजा यो लेख प्रकाशित हुँदासम्म लगभग आइसकेको हुनेछ । अहिले जसरी नतिजा आइरहेको छ, त्यस्लाई कतिपयले आश्चर्यजनक भने—मानेको पनि सुनिए पाइएको छ ।

तर अतीततिर फर्केर हे¥यौं भने हरेक निर्वाचनपछि केही न केही तरङ्ग जसरी आउने गरेको थियो, त्यसैको निरन्तरता यसपटक पनि देखियो भन्नुपर्छ भन्ने लाग्छ । आमनागरिकलाई “सार्वभौम अधिकार सम्पन्न” भन्ने, मान्ने, ठान्ने र त्यो सर्वाधिकार सम्पन्न जनताबाट निर्वाचित प्रतिनिधिमार्फत देशको शासनसत्ता संचालन गर्ने हो भने आवधिक निर्वाचनमा केही न केही नयाँ परिवर्तन देखापर्छ नै ।

नेपालमा सम्पन्न आमनिर्वाचनमा “ज्यूँदा–शहीद” भनेर मानिएका टंकप्रसाद आचार्यलाई एउटा सामान्य र कुनै देन नदिएका नभएका व्यक्तिले जसरी २०१५ सालमा हराए । नेपाली काँग्रेसले त्यही ०१५ सालको पहिलो निर्वाचनमा दुई तिहाईभन्दा बढी बहुमत सदस्य संसदमा पुर्यायो । त्यसदेखि यताका निर्दलीय अप्रत्यक्ष र प्रत्यक्ष निर्वाचन कालमा पनि मतदाताले परिवर्तनको पक्षमा आफ्नो मत जाहेर गरेकै थिए ।

पंचायती शासन प्रणालीको २०२८ सालमा स्नातक क्षेत्रबाट प्रतिनिधि निर्वाचन गर्दा देशका स्नातकहरु– खास गरी तत्कालीन सरकारका अधिकांश स्नातक कर्मचारी रहे भएको सिंहदरबारले पंचायत व्यवस्थाका कट्टर विरोधी उम्मेदवार रामराजाप्रसाद सिंहलाई निर्वाचित गरेर तहल्का नै मच्चाएका थिए ।

२०४२ सालतिरको आमनिर्वाचनमा काठमाडौं जिल्लाले तत्कालीन राष्ट्रिय पञ्चायतका लागि सदस्य पठाउने सन्दर्भमा एउटा सामान्य र “अलि बढी छिचरी मान्छे”का रुपमा चिनिएकी (भूई मान्छे) महिलालाई अत्याधिक बहुमतले निर्वाचित गरेर त्यसबेला तहल्का मच्चाएको सम्झौं । अथवा २०४८ सालको आमनिर्वाचनद्वारा बहुमत प्राप्त सरकार बनाएको प्रतिनिधिसभालाई विनासित्तीमा विघटन गरेकोमा २०५१ सालको मध्यावधि निर्वाचनमा तत्कालीन ने.का.का सुप्रिमो नेतालाई सत्ता नदिई विपक्षमा बस्न बाध्य पारियो । त्यो पनि अपरिकल्पित वा अप्रत्याशित नै मानिए ठानिएको थियो ।

“सत्तामा पुगेपछि नेपालका नेताहरु जनतालाई जुत्ता ठान्ने भए, स्वेच्छाचारी, भ्रष्टाचारी भए, राजनीतिलाई समाज सेवाको क्षेत्र ठानेनन् । उल्टै राजनीतिक दललाई केही टाठाबाठाहरु स्थायी संचालक हुने गरी विना जोखिम, विचौलिया, माफिया संघाधिपत्यवादी (सिण्डिकेटिस्ट) कालाबजारिया, असामाजिक र देशघाती तस्करको लस्करको पूँजीलाई पछाडीबाट लगानी गरिएको कम्पनीमा परिणत गर्दै अचाक्ली महंगीको गोलचक्करमा फँसाउँदै लगे । देशलाई आर्थिक रुपमा तन्नाम बनाउने र टाट उल्टाउँदै उठ्नै नस्कने अँध्यारो भड्खारेतिर धसाउनमा लागि परे” भन्ने आम जन गुनासो सुनियो । त्यस प्रतिक्रिया स्वरुप यसपटक ठूला दललाई नाक भाँच्ने गरी मतदाताले लोप्पा खुवाए भन्नेमा सायद कसैको विमित होला ।

यद्यपि “नेपालमा राजनीतिले कुन दिशा लिन्छ र नेपाली जनताको दशा आउँदा दिनमा कस्तो हुन्छ ? चर्मराउँदै गएको राष्ट्रिय अखण्डता र असंलग्नताको आधार मौलाउँदै गएको भ्रष्टाचार, कमिशनतन्त्र, सर्वव्यापी माफिया संजाल, केन्द्र (संघ)सँग पौठे जोरी खेल्दै “समानान्तर शक्ति प्रयोगको स्वायत्तताको अधिकार नपाए, स्वतन्त्र राज्य घोषणा गर्न पनि पछिनपर्ने” भन्ने अधिकांश प्रदेशबाट आएको वा आउने चुनौती, विश्वका शक्तिराष्ट्रहरुको लाचार छायाँ जस्तो निरीह बन्दै गएको रक्षा संयन्त्र विरासतमा पाएका, आफ्नो स्पष्ट अवधारणा, कार्ययोजना, दूरदृष्टि (भिजन) विना अकस्मात उल्काको रुपमा सामाजिक सञ्जालका वलमा उदाएका र शासन प्रशासनका विधि, प्रकृया, प्रविधिगत ज्ञान शून्य प्रायः नयाँ युवा समूहको “उदीयमान पार्टी” लाई तीस वर्षदेखि राज्यभोग गर्दै आएका पुराना रैथाने पार्टीका माहीर खेलाडी नेताहरुले कसरी आफ्ना सहकारी बनाउलान् ? ससम्मान सहकारी मित्रशक्तिको रुपमा लिएर अगाडि बढाउलान् कि ? लालीपप देखाउँदै, आफ्ना पुराना दुर्गन्धी थाङ्नामा थुमथुम्पाएरै सुताउँदै लाने चेष्टा गर्लान् ? आम चासोको विषय बनेको छ ।

यस्तो राजनीतिक परिस्थित, परिवेश, एकातिर स्पष्ट देखा परिरहेको छ । अर्काेतिर प्रतिनिधिसभा सदस्यको रुपमा वी.आई.सी.सी. भवनमा पुगेर शपथ नलिदै “सिंहदरबारका घुम्ने कुर्सीमा बसेर शासन सत्ता नियन्ता बन्ने र देश हाँक्ने हुटहुटीले उनीहरुलाई सताई रहेको हो कि ? भन्ने लख त्यस स्वतन्त्र पार्टीका नेताको “हामी सशर्त सत्तामा सहभागी हुन सक्छौं” भनाईबाट काट्न थालिएको छ । अंग्रेजीको “सत्ता र शक्तिले व्यक्तिलार्ई भ्रष्ट बनाउँछ, परम शक्तिले चरम भ्रष्ट” भनाईलाई संझिने हो भने “युवाहरु अगाडि आउनु्पर्छ देशको शासन सत्ता र शक्ति युवाले पाउनुपर्छ” भन्नेहरुको भनाईलाई शिथित बनाउला कि सबल ?, जेहोस्

“नेपालको माया !”

विदेशी विश्वविद्यालयहरुमा पुगेर, उच्च र आधुनिक ज्ञान विज्ञान पढेर अन्त्यमा “गुगगल गुरु”बाट नेपाल आमाको सम्पूर्ण पीर, पीडा, रोग, व्यथा र अवस्था बुझेर सामाजिक सञ्जालका रहस्यपूर्ण मार्ग हुँदै नवयुवाहरुले, देश खोज्दै अत्यन्त उपयुक्त र अत्यावश्यक बेलाका जसरी घण्टी बजाउँदै आजको ठाउँमा जे जसरी आइपुगेका छन् त्यसरी नै आम नेपालीले मन—मुटुदेखिको माया र सम्मान दिनैपथ्र्याे, दिएका छन् ।

अब आजसम्म जस्ले आम भूईमान्छे– जस्का टहरा, छाप्रा, शताब्दीयौंदेखि झुप्रा आजसम्मका शासन व्यवस्था र अधिशासकहरुले देखेनन्, हजारौं अर्ब खर्चेेर गरेको राष्ट्रिय विकासको प्रकाश केही सीमित व्यक्ति, आफन्त, उनका परिवार, सम्पन्न संभ्रान्त, टाठा, बाठाहरुसम्मकहाँ मात्र पुर्याए, परिणामतः ती (सुदूर—दराजका झुप्रा छाप्राका बासिन्दा) राष्ट्रिय अन्तर्राष्ट्रिय बढ्दो ऋणका बोँझ बोक्ने भरियामा सीमित भए– ती विपन्न, गरिबी–अभाव, महंगी र तीन तहका नयाँ ७६० सिंहदरबारका भ्रष्टाचारदेखि सम्मान खर्चभार व्यहोर्दै मरणासन्न अवस्थामा पुगेकाहरु कहाँ पुग्ने वाटोहरु भने गुगगल म्यापका र गुगगल गुरुसँग सोधेर पाइने छैन । पुरानो तिनै सिंहदरबारभित्रका घुम्ने मेचमा बसेर भित्ताका विकासका रंगीन तालिकामा रल्याउनेहरुलाई सोधेर पनि पुगिने, पाइने, भेटिने छैन ।

त्यसैले अब नवोदित शक्तिका अग्रपंक्तिमा देखिएका उन्नायकहरुले सडकदेखि भीर पाखासम्म पैदल हिँड्ने ढाक्रेहरुलाई खोज्दै र सोध्दै आजसम्म विकासको प्रकाशन नपुगेका घर छाप्रा पुग्न अगाडि बढ्न सक्नुपर्ने छ । देशमा व्याप्त भ्रष्टाचार हेर्न—खोज्न आजसम्म देश हाँक्ने अधिशासक—प्रशासकदेखि मोफसलका सदरमुकामका कंक्रिटका जंगलहरुभित्रका निम्न तहको जागीरमा जीवन खर्चेर विलासी जीवन विताउने, निजीकार सवार, अर्बपतिहरुका घर बंग्लोहरुसम्म पुग्नुपर्ने छ । तर त्यो कठिनतम बाटोमा हिड्दै नेपालीका मन मटुभित्र पुग्ने, बस्ने संकल्प गरेर बी.आई.सी.सी. भवन (संसद भवन)भित्रको प्रवेशको अनुमति लिइएको हो वा अर्कै स्वार्थ उद्देश्य र नियतले ? अब ती अनुमति दिनेका प्रत्येक दिनका अनेकौं यक्ष प्रश्नहरुको उत्तर दिनुपर्ने छ ।

त्यसो त “नेपालीहरुको राजनीतिक चरित्र, स्वभाव, स्वविवेकीय छैन । जे जति सचेत र पढेलेखेकाहरु छन्, उनीहरु कुनै न कुनै दलसँग जोडिएर उसको उदय भएमा आफ्नो पनि भलो होला भन्ने आशाबाट आफूलाई उनका वफादार दासको रुपमा राख्ने छन् । जो सबैभन्दा पींधका छन् र सधै सबै, शासक, प्रशासक, ठूलादेखि साना भारे भूरे तहका सेवा प्रदायक, कर्मचारीदेखि व्यापारी, समाज समुदायका कुनै न कुनै दलको मामूली कार्यकर्तासम्मको डर, धाक, धम्कीबाट पीडित छन्, दविएका छन् । उनीहरु हरेक निर्वाचनका परिणामबाट हिजोसम्म जसरी उत्साहित थिए । केही दिन आशाभरी नजरले नेताहरुको मुख ताक्थे । तिनीहरु पनि जस्ले जिते पनि भोलि भलो होला भन्ने आशा—भरोसा विहीन भएर अब कम्तिमा दोब्बर ज्याला मजदूरी नपाई मत दिने रहेनन् भएनन् । अहिलेको निर्वाचनमा सम्भवतः त्यही कारणले पनि कम मत खसेको हुनसक्छ । त्यसैले जित्नेले करोडौं खर्चिनु परेको हुनेछ । तर यस्तै शासन व्यवस्थालाई हामी उच्च लोकतन्त्र मान्दैछौं । एकजना मूल्यको राजनीतिमा पुस्ता विताएका नेताले निर्वाचनको पूर्वसन्ध्यामा यसै भनेका थिए ।

हुन पनि अहिलेको व्यवस्थाका उन्नायकहरुले जसरी सगर्व “हामीले सामन्ती राजतन्त्रको अन्त्य गरेर गणतन्त्रात्मक शासन व्यवस्था ल्यायौं” भन्दै आए उनीहरुले “सामन्ती निरंकुश” भन्दै आएको राजतन्त्रको ठाउँमा, आफ्नो अधिवंशवाद, परिवारवाद नातावाद, कृपावाद स्थापित गर्दै आफ्ना दास, चाटुकार पादपूजकहरुलाई निर्वाचन क्षेत्र र प्रदेश विर्ता दिनेभन्दा आम भूई मान्छेका लागि गरे के ? हो, ७६० नयाँ सिंहदरबार बनाइदिए । त्यसमा बसेर रजगज गर्ने “नव सामन्तहरु”को खान्गी भर्ने र वर्षेनी आफूहरुले विदेशी राष्ट्र र संस्थाबाट ल्याएर मनमाफिक खर्चेको ऋण भार चूपचाप बोकाइदिने थप काम मात्र गरिदिए ।

यस्तो समग्र राष्ट्रिय परिवेशमा जसरी २०४८ सालमा साच्चिकै इमान्दारितापूर्वक “देशमा आमूल परिवर्तन गर्ने” संकल्प सहित उदाएको सं.ज.मो (संयुक्त जनमोर्चा ५ वर्षमा नै हताश र निराश भई २०५२ मा सशस्त्र जनविद्रोहीसँग एकात्मक भयो । झण्डै १७ हजारको रक्तकुण्डमा नुहाएर २०६४ मा सबैभन्दा ठूलो शक्ति सहित संसदमा पुग्यो ।

अहिले अत्याधुनिक सार्वजनिक संचार संजालको वलमा प्रतिनिधिसभा पुगेको, नवोदित पार्टीका प्रतिनिधि युवाहरुले आफ्नो अवधारणा, दूरदृष्टि कार्य योजना, नीति, नियत नै स्पष्ट सार्वजनिक नगरी निर्वाचित भए उनीहरुले आउँदा दिनमा के गर्लान् ?” अहिले सबैको आम चासो र जिज्ञासाको विषय त्यही बनेको पाइयो ।

धेरैको आशंका होला-
“थोडी सी हवा पाकर
फूल जाते हैं रंगीन गुुव्वारें
जव वो आशमान छु जाते हैं
भूल जाते हैं अपनी औकातें”

तर पनि आशा, विश्वास र भरोसा गरौं । जसरी नयाँ उल्कापिण्ड (मिटीयोराइट)को भुल्का वा झुल्काको रुपमा नयाँ पार्टी उदायो, उस्का विश्वका उच्च ज्ञान, प्रविधिमा निष्णात भई आफ्नो मुलुक बनाउने संकल्प सहित नेपाल फर्केका युवाहरुलाई आम मतदाताबाट अनुमति लिई देशको सर्वाेच्च निकायमा पठाइरहेछ । उनीहरु रैथाने ठूला षडयन्त्रकारी दलका चक्रव्यूह तोड्दै, संसदीय महाभारतमा आम जनताका लागि समर विजयी बनून् ।
हार्दिक बधाई र शुभकामना !

युगसम्वाद साप्ताहिकबाट

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.