संस्कृति

पशुपति क्षेत्रमा माछामासु मदिरा र नशालु पदार्थ निषेध

जिल्ला प्रशासन कार्यालय काठमाडौँले बालाचतुर्दशी पर्वको सुरक्षालाई ध्यानमा राखेर बिहीबारदेखि तीन दिन पशुपति क्षेत्रमा माछामासु मदिरा, नशालु पदार्थको उत्पादन, बिक्री तथा सेवनमा निषेध गरेको छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बालाचतुर्दशी पर्व (शतवीजारोपण पर्व), २०८१ लाई मध्यनजर गर्दै यही मङ्सिर १३ देखि १५ गतेसम्मका लागि माछामासु, मदिरा तथा नशालु पदार्थ उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्नसमेत नपाउने गरी निषेध गरिएको जानकारी दिनुभयो ।

कसैले निषेध गरिएको गतिविधि गरेको पाइएमा कारबाही गर्ने काठमाडौँ प्रशासनले चेतावनी दिएको छ । काठमाडौँ प्रशासनले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “बालाचतुर्दशी पर्वको सुरक्षाका लागि पशुपतिनाथ विराजित पावन पाशुपत क्षेत्रभित्र सुरक्षालगायत धार्मिक, सांस्कृतिक, मर्यादा र पवित्रता कायम राखे उद्देश्यले देहायका चार किल्लाभित्र कसैले पनि मासु, मदिरा तथा नशालु पदार्थ उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम पूर्ण रूपमा रोक लगाइएको छ ।”

“कोही कसैले यो सूचनाको बर्खिलाप हुनेगरी कुनै काम गरेमा प्रचलित कानुनबमोजिम कारबाही भइजाने व्यहोरासमेत यसै सूचनाद्वारा जानकारी गराइएको छ”, विज्ञप्तिमा उल्लेख छ ।

काठमाडौँ प्रशासनका अनुसार गौशाला, मित्रपार्क सडकदेखि पूर्वपशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगङ्गा चक्रपथदेखि उत्तर, मित्रपार्क–उमाकुण्ड–गौरीघाट हुँदै गुह्येश्वरीबाट दक्षिणलगायत पशुपति क्षेत्रको सबै भू–भागमा माछामासु, मदिरा तथा नशालु पदार्थ उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न नपाउने जानकारी गराइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.