भोलिबाट नेपाल फेस्टिवल : तयारी अन्तिम चरणमा, आज पत्रकार सम्मेलन
जापानमा नेपाल र नेपालीको कला, संस्कृति र पर्यटन प्रबद्र्धन तथा जापानमा नेपाल र नेपालीको पहिचान झल्कने नेपाल हाउस निर्माणार्थ सहयोग जुटाउने उद्देश्यले आयोजना हुने १४ औं नेपाल फेस्टिवलको तयारी अन्तिम चरणमा पुगेको छ ।
नेपाल फेस्टिवल गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद जापान,,नेपाली राजदुतावास टोकियो र नेपाल आदिवासी जनजाति महासंघ जापानको संयुक्त आयोजना हुन लागेको हो ।
भोलि नोभेम्बर ३० र डिसेम्बर १ २०२४ (मंसिर १५ र १६ गते) संचालन हुने फेस्टिवल सफल पार्न एनआरएनए जापानका १२ ओटै क्षेत्रीय कार्यसमितीको सहकार्य रहेको छ ।
एनआरएनए जापानले फेस्टिवलको तयारीका विषयमा आज नोभेम्बर २९ शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी सम्पूर्ण जानकारी दिने भएको छ ।
फेस्टिवलमा आर्थिक संकलन अभियान, स्टल बुकिङ, स्वयम्सेवक टोली र विभिन्न भेषभूषा मौलिक कला सस्कृति , नेपाली संस्कृतिका प्रतिभा प्रदर्शन हुनेछ ।
फेस्टिवलमा नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोग र नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा डकुमेन्ट्री र फोटो प्रदर्शनको आवश्यक संयोजन भैरहेको बताइएको छ ।
फेस्टिवलमा ४० वटा व्यापारिक स्टल रहने छन् । जसमा १२ वटा नेपाली खानाको र अन्य व्यापारिक तथा आयोजकको प्रयोजिनका लागि रहने छन् । फेस्टिवलमा नेपाली खाना, नेपाली कपडा र अन्य नेपाली उत्पादनको कारोबार हुनेछ ।
फेस्टिवलमा दिपओए फाउन्डेसन जापान, पूर्ण ट्रेडिङ, एनआरएनए आईसीसीका उपाध्यक्ष रोविन शेरचन, व्यवसायी राजन भट्टराई, पे एनपीएल क्रेडिट कार्डले मुख्य आर्थिक सहयोग गरेको छ ।
फेस्टिवलको अनुमानित खर्च एक करोड ४० लाख येन रहेको एनआरएनए जापानका प्रवक्ता खगराज गौतमले जानकारी दिनुभएको छ । गैरआवसीय नेपाली संघ एनआरएन जापानले सन् २०१२ देखि हरेक वर्ष जापानमा नेपाल फेस्टिवलको गर्दै आएको छ ।
प्रतिक्रिया राख्नुहोस्