युवा नेताहरु सरकार र पार्टीको नेतृत्व लिएर बुढाहरुलाई सम्मानित स्थान दिन तयार
प्रधानमन्त्री तथा सत्तारुढ नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टी र सरकारको नेतृत्व युवा पुस्तालाई हस्तान्तरण गर्ने आफ्नो योजना रहेको पटकपटक घोषणा गरिरहनु भएका बेला ऊर्जामन्त्री एवम् नेकपा स्थायी समिति सदस्य वर्षमान पुनले युवाहरु सरकार र पार्टीको नेतृत्व लिन तयार रहेको बताउनुभएको छ ।
सोमबार रोल्पामा आयोजित कार्यक्रममा मन्त्री पुनले युवाहरु यसका लागि तयार भए पनि नेकपाका दुवै अध्यक्षले सहमतिमा यो कुराको निर्णय गर्नुपर्ने र उहाँहरुलाई अभिभावकको रुपमा सम्मानित स्थान दिएर राख्ने पनि बताउनुभयो ।
रोल्पा नगरपालिका–३ लाँकुरीमा ३३र११ केभी सबस्टेशनको उदघाटन कार्यक्रमलाई सोमबार बिहान सम्बोधन गर्दै मन्त्री पुनले दुवै अध्यक्षले प्रक्रियागत रुपमा निर्णय गर्नुस्, प्रधानमन्त्री र पार्टी अध्यक्ष पनि छाड्छौं भन्नुस्, हामी युवाहरु प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै चलाउन तयार छौं ।
कार्यक्रममा मन्त्री पुनले नेतृत्व युवालाई हस्तान्तरण गर्ने कुरा आवेग र उत्तेजनामा घोषणा गर्ने विषय नभएको बताउँदै यो विवेकले, प्रक्रियासम्मत ढंगले पार्टीले निर्णय गर्ने विषय भएको पनि बताउनुभयो ।
हाल नेकपाभित्रको पछिल्लो बहसले सिंगो देशको राजनीति नै प्रभावित भएको जस्तो देखिएको भन्दै उहाँले यसबाट पार्टी एकता कमजोर नहुने दाबी गर्दै यसले एकतालाई झन् बलियो बनाउने विश्वास गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्