एन आर एन न्युजप्रबास

भूतपुर्व गोर्खाहरुको नेपालका लागि बिदा अवधि ९० दिन बनाउन माग

गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतले बेलायती सेनाबाट अवकाश भएर बेलायतमा पेन्सन क्रेडिट पाइरहेका भूतपूर्व गोर्खाहरुलाई नेपाल लगायत अन्य देशमा जाँदा ९० दिन बिदा दिन माग गरेको छ ।

हाल उनीहरुले २८ दिन भन्दा बढी समय बेलायत बाहिर बिताउन नपाउने व्यवस्था रहेकोमा एनआरएनए यूकेले त्यस्तो व्यवस्था बदल्न अनुरोध गर्दै बेलायतका एक पूर्व राज्यमन्त्रीलाई एक मागपत्र बुझाएको छ ।

एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले गत शुक्रबार युरोप हेर्ने राज्यमन्त्री तथा नेपाली समुदायसंग निकट रहेका पूर्व रक्षाराज्यमन्त्री लियो डोकर्टीमार्फत ज्ञापन बुझाउँदै विदा समयावधि ९० दिन बढाउन बेलायत सरकारसमक्ष आग्रह गर्नुभएको हो ।

तीन पेज लामो ज्ञापनपत्रमा भूतपूर्व गोर्खाहरुलाई २८ दिनमात्र विदा पर्याप्त नभएको उल्लेख गर्दै गोर्खा स्टाटस कमनवेल्थ देश जस्तो नभइ फरक भएकाले यस नियममा पुनर्विचारका लागि आग्रह गरिएको छ ।

भूतपूर्व गोर्खाहरु विदामा नेपाल जाँदा उनीहरुको बसाइ दुर्गम भौगोलिक विकट ठाउंमा रहेका कारण २८ दिनको समयभित्र पारिवारिक भेटघाट अनि अन्य प्रशासनिक काम गर्न पर्याप्त समय नहुने ज्ञापनमा छ ।

बेलायतले तीस वर्ष मुनीका गोर्खा वयस्क सन्तानहरुलाई सशर्त आवासीय भिजा दिए पनि सबैका भूपू गोर्खाका सन्तान बेलायतमा नभएकाले छोटो अवधिको बिदा उनीहरुका हकमा निकै कष्टकर बनेको ज्ञापनमा उल्लेख छ ।

मागपत्र बुझेपछि मन्त्री डोकर्टीले भूतपूर्व गोर्खा मुद्दालाई आफूले नजिकबाट हेरिरहेको र यस मागलाई बेलायत सरकारसम्म पुर्याउन आफूले पहल गर्ने जनाउनुभएको अध्यक्ष गाहामगरले बताउनुयो ।

अध्यक्ष गाहामगरले मन्त्री डोकर्टीसंग गत वर्ष १९ अगष्ट, २०२१ मा भोक हड्तालमा बसेका तीनजना अभियन्तालाई बचाएको स्मरण गर्दै त्यतिबेला आफूले गोर्खा समस्या समाधान गर्न गरेको वाचा अहिलेसम्म पुरा नभएकाले सो प्रतिज्ञा पुरा गर्न दवाव पनि दिएका थिए ।

गैर आवासीय नेपाली संघ युकेका उपाध्यक्ष तथा प्रवक्ता भरतमणि चोङ्बाङका अनुसार ज्ञापनमा गोर्खा इतिहास, उनीहरुको योगदान अनि बेलायतको आवासीय अधिकार, एनआरएनए यूकेको काम कर्तव्य लगायत पक्ष पनि अवगत गराइएको छ ।

ज्ञापन बुझाउन एनआरएनए यूके प्रमुख सल्लाहकार क्याप्टेन वीर थापा, मद्दत समूहका संयोजक तथा सल्लाहकार क्याप्टेन विष्णु श्रेष्ठ, गोर्खा आमा समूहकी सेट्टी माया गुरुङ लगायत कयौं भूतपूर्व गोर्खा सहभागी थिए ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.