जन सरोकार

बाह्र राजाले शान्ति र मेलमिलापका लागि छलफल गरेको चौतारा

भारी बिसाउने, थकाई मेट्ने र शितल ताप्ने मात्र हैन अहिलेको जस्तो सभाहल नभएको समयमा गोष्ठी र बैठक गरेर विभिन्न निर्णय गर्ने थलोका रुपमा चौतारालाई लिइन्छ । नेपालमा यस्ता अनगिन्ती चौताराहरु छन्, जुन पुरातात्विक महत्वका मानिन्छन् ।

रामशाहको चौतारो होस् वा अरु चौतारा, शान्ति, न्याय । सहअस्तित्वसंग जोडिन्छ । यस्तै एक चौतारा हो पोखरा महानगरपालिका वडा नं ३२ स्थित ऐतिहासिक राजाको चौतारा, जसको पुनःनिर्माण गरी उद्घाटन गरिएको छ ।

इतिहासका आधारमा नेपालका बाइसेचौबीसे राजाका पालामा यही चौतारामा बसेर एकापसमा झैझगडा नगर्ने, शान्ति र सहअस्तित्व कायम गर्ने सम्झौता गरिएको थियो । स्थानीय पहल एवं नेपाली सेनाको सहयोगमा पुनःनिर्मित चौताराको प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गर्नुभयो । उहाँले चौतारालाई पर्यटन प्रवद्र्धन, शान्ति, सहअस्तित्वको प्रतीक र अन्तर्राष्ट्रिय सम्पदा सूचीमा राख्न आफू आतुर भएको बताउनुभयो ।

ऐतिहासिकस्थलको विकासका लागि सहकार्य गर्न आफू सदैव तयार रहेको बताउँदै उहाँले आगामी दिनमा पनि यस ऐतिहासिकस्थलको संरक्षण र प्रवद्र्धनमा सदैव लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले ऐतिहासिक राजाको चौतारालाई विश्वसामु चिनाउन सबै लाग्नुपर्ने धारणा राख्नुभयो । संस्कृतिविद् एवं नेपाल राष्ट्रिय प्रज्ञापतिष्ठानका उपकुलपति डा जगमान गुरुङले गण्डकी प्रदेश र नेपालकै पर्यटकको मुख्य आकर्षको ऐतिहासिक स्थल राजाको चौतारा रहेको बताउनुभयो ।

तत्कालीन यस क्षेत्रका बाह्र राजाले कास्कीको मालमूलमा भेटेर सम्मेलन गरी आपसमा लडाइँभिडाइँ नगर्ने, आआफ्नो साँध सिमानामा मिलेर बस्ने, आपसमा बिहेवारी गर्ने आदि शान्ति सम्झौताको सन्धि गरेको स्थललाई शान्ति र सहअस्तित्व प्रतिक मानी विकास निर्माणको काममा अघि बढ्न उहाँले आग्रह गर्नुभयो । चौताराले शान्तिको सन्देश दिएको र भविष्यमा पनि दिने उहाँले उल्लेख गर्नुभयो ।

ब्रह्म रुपा माध्यमिक विद्यालयको परिसरभित्र करिब एक रोपनी क्षेत्रमा फैलिएको राजाको चौतारा नामक चौतारालाई पुनःनिर्माण कार्य नेपाली सेनाको भगवती दल गण फूलबारी कास्कीले गरेको हो । चौतारामा ऐतिहासिक राजाको झल्को आउने श्रीपेच, स्तम्भमा शान्तिको प्रतीक परेवा, समीको रुख, चौताराको एक छेउमा पानीसहितको माटोको घैटो, प्रतिक्षालय, तलाउ र बगँैचासहित निर्माण गरिएको छ ।

कार्यक्रममा ऐतिहासिकस्थलका रुपमा विकास गर्न समाचार सम्प्रेषणका माध्यमबाट योगदान गरेको भन्दै आदर्श समाज राष्ट्रिय दैनिकका पत्रकार कविराज खनाललाई सम्मान गरिएको थियो । कार्यक्रममा वडाध्यक्ष अक्कलबहादुर कार्की, वडा सदस्य विष्णु तिवारी, चौतारा निर्माण समितिका संयोजक इन्द्रविलास पौडेललगायतले चौताराको महत्वलगायतमा आ आफ्ना धारणा राख्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button