जन सरोकार

जुम्ला र बागलुङमा सवारी दुर्घटना : तीनजनाको मृत्यु

जुम्ला र बागलुङमा भएको सवारी दुर्घटनामा परी तीनजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । समाचार अनुसार जुम्लको सिंजा गाउँपालिकामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका हुन् ।

कनकासुन्दरी गाउँपालिकाको गुठीज्यूलाबाट नेपालगञ्ज जाँदै गरेको ना६ख ४४३८ नंको बस सिंजा गाउँपालिका–२ जुम्ला घोडेङ्गा गाउँमा दुर्घटना भएको हो । बस सडकदेखि करिब २०० मिटर तल खसेको जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईँले जानकारी दिनुभयो । प्रारम्भिक जानकारीअनुसार घटनास्थलमा नवीन रावल र विशाल बमको मृत्यु भएको उहाँले बताउनुभयो ।

बसमा चार जना मात्र सवार थिए । घाइतेको उद्धार गर्न प्रहरी निरीक्षक युवन चौधरी नेतृत्वको प्रहरी टोली त्यसतर्फ गएको छ । घाइतेलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजान एम्बुलेन्स पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसै गरी बागलुङको काठेखोला गाउँपालिका–१ पालामा जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन घाइते भएका छन् ।

मध्यपहाडी लोकमार्गको बागलुङ–अक्षते सडकखण्डको पाला खहरेमा आज बा१८च ५६७७ नंको जीप दुर्घटना हुँदा बागलुङ नगरपालिका–७ सिमका ४५ वर्षीय श्याम शर्माको घटनास्थलमै मृत्यु भएको हो । प्रहरी नायब उपरीक्षक इकवाल हवारीका अनुसार दुर्घटनामा बागलुङ नगरपालिका–१ रामरेखाका ४६ वर्षीय टकबहादुर बोहोरा, ४४ वर्षीय दिनेश गिरी र २५ वर्षीय अजय शिवाकोटी घाइते भएका छन् ।

घाइतेको धवलागिरि अस्पतालमा उपचार भइरहेको छ । जीपमा सात जना सवार थिए । चालक र अन्य एक यात्रु फरार छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button