राजनीति

अबको नेतृत्व युवाको काँधमा दिनुपर्छ : डा भण्डारी

नेपाली कांग्रेसका नेता तथा गुल्मी क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य डा चन्द्र भण्डारीले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्ने बताउनुभएको छ ।

शुक्रबार गुल्मीको सदरमुकाम तम्घासस्थित विपी स्मृति भवनमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले देशलाई सही दिशामा अघि बढाउन र वर्तमान समस्या समाधान गर्न युवाहरूको महत्त्वपूर्ण भूमिका हुने भन्दै नेता भण्डारीले अबको नेतृत्व युवाको काँधमा आएको बताउनुभयो ।

उहाँले निर्वाचनको बेलामा नेतृत्वको विरोध गर्दा झन आफैँमाथि प्रहार हुने र सबै मिलेर चुनाव हराउने डरका कारण आफूले केही नबोलेको बताउनुभयो । “अब निर्वाचन सकियो, काठमाडौँ जान्छु र सबै मिडियाका अगाडि म नेतृत्वका विषयमा बोल्नेछु”, नेता भण्डारीले भन्नुभयो ।

वर्तमान समयमा दलहरूले प्राप्त गरेको निर्वाचनको परिणामलाई लिएर बजारमा भिन्न भिन्न आकलन र अडकलबाजी चलिरहेको भन्दै उहाँले नेपाली कांग्रेसले सबै दललाई मिलाएर अघि बढ्ने बताउनुभयो । पहिलो काम भनेको गठबन्धनलाई मिलाउने र त्यसपछि प्रतिपक्षसँग पनि सहकार्य गर्दै अघि बढने उहाँको भनाइ थियो ।

नेता भण्डारीले निर्वाचन जित्नु केवल मन्त्री बन्नैका लागि मात्र नभएको भन्दै मुलुकलाई केही परिवर्तनकारी काम गर्नका निम्ति मन्त्री बन्ने सोच बनाउनुपर्ने बताउनुभयो । उहाँले कसको नेतृत्वमा सरकार बनाउने भन्ने विषय पार्टीभित्र र गठबन्धनमा जोडिएका दलहरूसँग बसेर सहमति खोजिने बताउनुभयो ।

उहाँले गुल्मी जिल्लालाई विकास निर्माणको हिसाबले नमूना जिल्ला बनाउने गरी आफू अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेता भण्डारीले गुल्मीमा विकास निर्माणको काम कछुवाको गतिमा अघि बढेको गुनासो गर्नुभयो ।

रेसुङ्गा नगरपालिकामा आज कार्यालय प्रमुखहरूसँग छलफल गर्दै उहाँले विकास निर्माणको काममा तीव्रता दिन कार्यालय प्रमुखहरूलाई निर्देशनसमेत दिनुभएको थियो ।

कार्यक्रममा गुल्मी क्षेत्र नं १ अन्र्तगत प्रदेशसभा (२) का सदस्य धनेन्द्र कार्कीले जिल्लाको विकासका लागि आफूले निर्वाचनमा गरेका प्रतिबद्धताहरू पूरा गर्ने बताउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.