राजनीति

‘भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न सबै पक्षको भूमिका आवश्यक’

भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने कार्यका लागि सबै पक्षको उत्तिकै महत्वपूर्ण भूमिका र सामूहिक पहल आवश्यक छ भन्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

राष्ट्रिय सतर्कता केन्द्रको आयोजना एवम् जिल्ला प्रशासन कार्यालय ललितपुर र जिल्ला समन्वय समितिको संयोजनमा आज यहाँ आयोजना भएको ‘भ्रष्टाचार नियन्त्रण हाम्रो साझा दायित्व’ विषयक सदाचार शिक्षा एवं सचेतनामूलक कार्यक्रममा धारणा राख्नुहुँदै गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले सतर्कता केन्द्रको उपस्थितिले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न सहयोग पुग्ने धारणा राख्नुभयो ।

“हरेक कार्यालयको सेवा प्रवाहको अवस्थाका बारेमा अनुगमन र निगरानीले सुशासन कायम गर्छ, तर नेपालमा बसेर सेवा लिनेभन्दा विदेशमा बसेर अफवाह फैल्याउने कारणले कतिपय कुरामा समस्या सृजना भएको छ, कतिपय अवस्थामा जनप्रतिनिधिलाई ऐन, कानुन र नियम थाहा नहुँदा समस्या आउने गरेको छ, जनप्रतिनिधि र कर्मचारी दुवैको महत्वपूर्ण भूमिका हुन्छ, सुशासन कायम गर्ने विषय ऐन, कानुन र कागजमा लेखेर मात्रै हुँदैन यसलाई व्यवस्थापन गर्नेमा पनि ध्यान दिनुपर्छ, भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम गर्ने सन्दर्भमा जनचेतना अभिवृद्धि गर्ने कार्य गर्दै आएका छौँ,” उहाँले भन्नुभयो ।

नगरप्रमुख महर्जनले दलीय इगोको भरमा उजुरी दिएर जनप्रतिनिधिको काम गर्ने क्षमता कमजोर बनाउनेभन्दा पनि यथार्थका आधारमा उजुरी दिने पद्दति हुनुपर्छ भन्नुभयो । उहाँले जनप्रतिनिधिले सार्वजनिक बिदाको दिन पनि नागरिकको सेवामा लाग्नुपर्ने भएकाले सवारीसाधनको प्रयोगलाई अतिरञ्जित गर्ने कार्य हुनु नहुने धारणा राख्नुभयो ।

ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले सदाचार कायम गर्दै नागरिकमैत्री सेवा प्रवाहका लागि सबैले आफ्नोतर्फबाट सुरुआत गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले काम नगरी खाने संस्कृतिको विकासले भ्रष्टाचारको विकास भएको भन्दै हामीले हाम्रो सन्ततिलाई कर्मका आधारमा खाने र बाँच्ने संस्कार सिकाउने हो भने भ्रष्टाचार नियन्त्रण हुन्छ भन्नुभयो ।

“सजिलोसँग पैसा कमाउने लोभलालचका कारण भ्रष्टाचार बढेको हो, सन्ततिका लागि भ्रष्टाचार गरेर सम्पति थुपार्ने हैन, उनीहरूलाई सक्षम र सबल बनाउने हो, सूक्ष्म ढङ्गले बुझाउन जरुरी छ, मन र मानसिकताभित्र रहेको सङ्कीर्ण सोच र लोभलालचको जड अन्त्य नगरेसम्म समस्या समाधान हुन सक्दैन,” उहाँले भन्नुभयो ।

बाग्मती गाउँपालिकाका प्रमुख वीरबहादुर लोप्चनले कर्मचारी र जनप्रतिनिधिको समन्वय सहकार्य गरेर काम गर्दा मात्रै जनतालाई प्रभावकारी सेवा प्रवाह गर्न सकिने भन्दै तीनै तहका सरकारले निर्माण गरेका ऐन, नियम, नीति, नियम र कार्यविधिलाई अवलम्बन गर्दै काम गर्नुपर्ने बताउनुभयो । उहाँले व्यक्तिगत रिसइबीका आधारमा अख्तियार र राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी दिइने व्यवस्था परिवर्तन गरिनुपर्नेमा जोड दिनुभयो ।

कोन्ज्योसोम गाउँपालिकाका प्रमुख कृष्णमान लामाले नकारात्मक कुरालाई कम गर्दै सार्वजनिक परीक्षण गरेर सुशासन कायमका लागि ध्यान दिएको जानकारी गराउँदै सबै पक्षबाट आउने सुझावलाई स्वीकार गर्दै विद्यमान कानुनलाई अवलम्बन गर्दै प्रभावकारी सेवा प्रवाहमा ध्यान दिइने बताउनुभयो । उहाँले तथ्यमा आधारित रहेर सञ्चारमाध्यमले सूचना प्रवाह गर्नुपर्नेमा जोड दिँदै कमजोरी सच्याउने र भ्रष्टाचार नियन्त्रण गर्नेमा सबैको एकता आवश्यक हुने धारणा राख्नुभयो ।

महालक्ष्मी नगरपालिकाका उपप्रमुख लक्ष्मी महर्जनले भ्रष्टाचार रोक्न अनुगमनलाई बढावा दिन आग्रह गर्दै आफ्नो नगरपालिकाको गतिविधिलाई पनि नियालेर सुझाव दिन आग्रह गर्नुभयो । उहाँले उपभोक्ता समितिमार्फत हुने भ्रष्टाचारलाई नियन्त्रणमा ल्याउन पनि जरुरी छ भन्नुभयो ।

कोन्ज्योसोम गाउँपालिकाका उपाध्यक्ष राजनप्रसाद घिमिरेले गल्ती गर्नेले दण्डको भागिदार हुनुपर्ने बताउँदै तीनै तहका सरकारको नेतृत्व गर्ने जनप्रतिनिधि र कर्मचारीले सदाचार कायम गर्नसक्दा भ्रष्टाचारको निराकरण हुने बताउनुभयो ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले सुशासन कायम गर्दै सरकार सञ्चालनमा सामूहिक प्रतिबद्धता र सहकार्य आवश्यक छ भन्दै राष्ट्रिय सतर्कता केन्द्रले जिम्मेवारीमा रहेकालाई अनुशासनमा बाँध्ने काम गर्ने बताउनुभयो ।

उहाँले नागरिकलाई सरकारी सेवा प्रवाह गर्दा औषतमा मात्रै उपलब्धि हासिल गरेर हुँदैन भन्दै उत्कृष्ट उपलब्धि हासिल गर्न सक्नुपर्छ भन्नुभयो । प्रमुख जिल्ला अधिकारी भट्टराईले राज्य सञ्चालन प्रणाली राजनीतिले निर्देशन गर्ने भएकाले राज्य सञ्चालनमा सहायक रहेको कर्मचारी संयन्त्रलाई विश्वासमा लिएर जिम्मेवार र जवाफदेही बनाउँदै सुशासन कायम गर्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय सतर्कता केन्द्रका सहसचिव नारायणप्रसाद भट्टले केन्द्रले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३८ अनुसार निर्देशित भएर काम गर्ने जानकारी गराउँदै सतर्कता केन्द्रले भ्रष्टाचार नहुने अवस्थाको सृजना गर्ने हो भन्नुभयो । उहाँले सतर्कता केन्द्रले सरकारी कार्यालयले गरेको निर्णयको गल्तीलाई सच्याउने काम गर्ने जानकारी गराउँदै देश भ्रष्टाचारको चङ्गुलमा फस्दा असन्तुष्टि बढ्दै गएको हो भन्नुभयो ।

सतर्कता केन्द्रका सहसचिव दीपक घिमिरेले सुशासन कायम गर्नका लागि प्रवद्र्धनात्मक र निरोधात्मक कार्य गर्ने उद्देश्यले राष्ट्रिय सतर्कता केन्द्र स्थापित भएको जानकारी गराउँदै सार्वजनिक जिम्मेवारी धारणा गरेको व्यक्तिको सम्पत्ति विवरणको अनुगमन र निरीक्षण गर्ने र कुनै गल्ती भएको रहेर भने सच्याउन निर्देशन दिने बताउनुभयो ।

प्रहरी नायब महानिरीक्षक निरञ्जन बिष्टले सरकार, जनप्रतिनिधि र कर्मचारीले नै सुशासन कायम गर्ने र गराउने हो भन्दै नागरिकप्रति जिम्मेवार हुँदै सेवा प्रवाहका लागि सुशासन जरुरी रहेको छ भन्नुभयो । उहाँले राष्ट्रिय सतर्कता केन्द्रले ७७ वटै जिल्लामा गतिविधि सञ्चालन गरेर सुधारका लागि ध्यान दिएको छ भन्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.