एडम रोसिङ्टनको शतकीय पारीमा राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्स सामू जितको लागि २ सय २ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय १ रन बनायो ।
पोखराको लागि एडम रोसिङ्टन ५८ बलमा ११ चौका र सात छक्काको मद्दतमा अविजित रहँदै १ सय ८ रनको शतकीय पारी खेले भने जेसन रोयले ३४ बलमा दुई चौका र तीन छक्काको सहयोगमा ४६ रन बनाए । त्यस्तै धनञ्जय लक्षण २३ रन जोड्दा कुशल भुर्तेलले १८ रन बनाए । पोखराले अतिरिक्त छ रन पाएको थियो ।
कर्णालीको लागि नन्दन यादव र मार्क वाटले समान एक-एक विकेट लिए । दुवै टोलीका लागि यो खेल ‘प्लेअफ’मा पुग्न महत्वपूर्ण छ ।
चार खेलमा एक खेल मात्रै जितेको पोखरालाई यो खेल जिते प्लेअफको यात्रामा अघि बढ्न सहज हुनेछ । कर्णालीका लागि पनि प्लेअफमा पुग्न यो खेल जित्नैपर्ने हुन्छ । यसअघि आजै भएको पहिलो खेलमा जनकपुरले चितवनलाई ६ विकेटले हराएको थियो ।





प्रतिक्रिया राख्नुहोस्